आज सबै मतपेटिका संकलनको काम सकिने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा मंसिर १० गते आइतबार मतदान भएका सबै जिल्लामा आज मतपेटिका संकलन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४ सय १० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अन्य बाँकी ४ सय ६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको छ । आयोगका अनुसार आज साँझसम्म बाँकी मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने छन् । मौसममा समस्या देखिएर उडान हुन नसकेको खण्डमा भने मतपेटिका ल्याउन केही ढिला हुनसक्ने प्रवक्ता ढकालले बताउनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     3:12:33 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *