लोकतन्त्रलाई झ्याकझुक पार्ने तानाबाना बुन्दैछ

 

शोभाकर पराजुली

गौतमबुद्ध पछि सबैभन्दा बढी अक्षरहरूद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दूरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रतालगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरू निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ । विश्व नै चकित हुने खालका घटना परिघटनाहरूको संख्या दर्जनौं छन् ।

नेपाली जनताको चाहनाअनुसार सात दशकसम्मको अनेकौं बलिदान, संघर्ष, आन्दोलनको परिणामस्वरूप जनताले चुनेका प्रतिनिधिहरूले निर्माण गरेको संविधान प्राप्त भएको छ । केही त्रुटि, कमी, कमजोरीहरूका बाबजुद यो संविधानका आधारमा संशोधनको मार्ग प्रशस्त रहेको अवस्था यसको सुन्दर पक्ष हो ।

देश अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । वास्तवमा यो निर्वाचन सबै नेपालीहरूको उत्सव होइन बरु “महाउत्सव” बनेको छ । यसै अवसरमा सबै मतदाताहरूमा कौतुहलता, उत्सुकता, क्रियाशीलता छ कि – कुन दल, कस्ता उम्मेदवारलाई मतदान गर्ने ? प्रश्न चानचुने छैन । उत्तर विविध हुन सक्छन् । यो स्वाभाविक हो । अहिलेको विषम परिस्थितिमा जनअपेक्षित क्रियाकलापहरू राज्यबाट हुन सकेको देखिँदैन । उत्तम, उत्कृष्ट कोही छैन । तर अंग्रेजीको एउटा भनाइ ‘बेस्ट एमोङ्ग द वस्र्ट’ (खराबहरूमध्ये उत्तम) लाई मध्यनजर राख्दै “कांग्रेसलाई नै मत किन ?” भन्ने सन्दर्भमा संक्षिप्त चर्चा गर्ने धृष्टता गरिएको छ ।

“कांग्रेसलाई नै मत किन ?” यो प्रश्न आम मतदातामा छ, पार्टीका कार्यकर्ताहरूमा छ, तटस्थ मत राख्नेहरूसँग छ । जसले आफ्नो आकांक्षाअनुरूप अवसर पाएनन्, टिकट पाएनन्, तिनीहरूसँग छ, निर्णयमा अन्याय भयो भनेर महसुस गर्नेहरूसँग छ । अर्थात् सबैसामु यो प्रश्न तेर्सिएको छ । यसबारे निर्णयमा पुग्नुपूर्व केही चिन्तन आवश्यक छ ।

अहिलेको आम नेपालीको चाहना भनेको मानवतावादमा आधारित आर्थिक वृद्धि, स्थिर लोकतन्त्र, बलियो राष्ट्रियता, प्रगाढ सामाजिक सद्भाव नै हो । यो चाहनाका लागि अबको बाटो जन अभिमत अर्थात निष्पक्ष निर्वाचन नै हो, जो हाम्रो संघारमा छ । नेपालमा क्रियाशील दलहरूमध्ये उपरोक्त उल्लेखित चाहनाको प्राप्तिका लागि नेपाली कांग्रेस नै प्राथमिकतामा पर्नुपर्छ भन्ने कुरालाई पुष्टि गर्न केही उदाहरणहरूबारे चर्चा गर्नु उपयुक्त नै हुनेछ ।

विनोद चौधरी, जो नेपालका एक अन्तर्राष्ट्रिय उद्योगी हुन् । उनी अहिले नेपाली कांग्रेसमा आएका छन् । कांग्रेसमा उनको आबद्धता त्यसै भएको होइन । उनले सामान्य संकेत गरेका भए कुनै पनि दलले उनलाई रेड कार्पेट बिछ्याउन सक्थ्यो । उनलाई विगतमा सांसद बनाइसकेको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नेतृत्वको वाम गठबन्धनले त झन् दुई तिहाई बहुमत ल्याउने शंखनाद गर्दैछ । यस्तो अवस्थामा उनी त्यो दलसँग किन विरक्त भए होलान् ? किनभने अहिलेको समय कम्युनिष्ट राजको होइन । माओको चीन पनि उदार लोकतन्त्रतर्फ लम्किरहेको क्षण हो ।

नेपाली कांग्रेसले युवापुस्ताका चम्किला ताराहरू बजरंग नेपाली र सकलदेव सुतिहारलाई क्रमशः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष एवं गणतन्त्रवादी नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष एवं संघीयतावादी नेता उपेन्द्र यादवको विजयलाई सुनिश्चित गर्न आफ्नो उम्मेदवारी किन फिर्ता गरायो होला ? जवाफ सोझो छ– नेकपा (एमाले) ले देशमा सामुदायिक धु्रवीकरणलाई प्रश्रय दिएको छ । घृणा र निषेधको राजनीतिले आधुनिक समयमा मुलुकलाई ऐक्यबद्ध बनाएर राख्न सकिँदैन ।

नेपाली कांग्रेसले सामाजिक सद्भावलाई बल दिन चाहन्छ । सँगसँगै कांग्रेसले संसदमा अरू विचारधाराहरू पनि आउन् भन्ने चाहन्छ । भारतमा पनि त्यहाँका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले विपक्षका प्रभावशाली नेतालाई संसदमा ल्याउन उदार दृष्टिकोण राखेका थिए । त्यसैगरी नेपाली कांग्रेसले नेपालको विविधता संसदमा देखियोस् भन्ने चाहेको हो । नेकपा (एमाले) को कारणले सी.के. राउतहरूले मलजल पाइराखेका छन् । नेपाली कांग्रेसले मधेसी राजनीतिका मध्यमार्गी धारलाई राष्ट्रिय, राजनीतिसँग जोड्न चाहन्छ । यसअघि पनि गिरिजाप्रसाद कोइरालाले गजेन्द्रनारायण सिंह प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि उनलाई राष्ट्रियसभामा ल्याउनु भएको थियो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले चुनाव सार्ने देशीविदेशी जालझेल भइरहेको भनेर आशंका छर्ने दुष्प्रयास गरिरहेको अवस्थामा कांग्रेस चाहिँ निर्वाचनका पक्षमा एकटकले अर्जुनदृष्टि राखिरहेको थियो र छ पनि । यसको तात्पर्य भनेको नेपाली कांग्रेस संविधानसभाद्वारा निःसृत संविधानको इमानदार कार्यान्वयन चाहन्छ । तर बाम गठबन्धनले अनेक जालझेल गरेर यो संविधानलाई च्यात्न चाहन्छ । कम्युनिष्ट सत्ताले नेपालको एकता र अखण्डतालाई सुरक्षित राख्न सक्दैन । भारतको लोकतान्त्रिक संविधानअन्तर्गत चुनिएर आएका प्रतिनिधिहरूले त्यहाँको पश्चिम बंगाल राज्य (कम्युनिष्ट) मा शासन गर्दाका बखत त एउटा व्यक्तिले आफ्नो निजी घर बनाउन आवश्यक पर्ने निर्माण सामग्री छड, सिमेन्टलगायत किन्न पनि पार्टीले अनुमति दिएको पसलबाट मात्र किन्नु पथ्र्यो ।

अहिलेको समाजवाद भनेको प्रत्येक नागरिकको पहिचान र सम्मान, समावेशी राज्य संरचना, सार्थक संघीयता, सामाजिक न्यायको प्रत्याभूति, सहिष्णुता, खुला समाज, वैयक्तिक सम्पत्तिको सुरक्षा, उदार लोकतन्त्र र सामाजिक सद्भाव हो । यसको सार्थक कार्यान्वयन एवं समय सापेक्षित परिस्कार गर्ने कार्य नेपाली कांग्रेसको नेतृत्वले मात्र गर्न सक्छ । तपार्इं अध्यारो कोठामा बस्ने कि उज्यालो भएको कक्ष रोज्ने ? चम्किलो कोठामा एउटा सुई खस्दा पनि तपाईंले बोल्ने र औँला उठाउने स्वतन्त्रता पाइराख्नुहुन्छ । त्यसैले जनमतले कांग्रेसलाई रोज्नुपर्छ ।

अहिले नव महेन्द्रपथ जन्मँदैछ । लोकतन्त्रलाई झ्याकझुक पार्ने तानाबाना बुन्दैछ । बाम गठबन्धनले संविधान संशोधन गरेर चिनियाँ मोडेलको पार्टीतन्त्र र शासनतन्त्र ल्याउने कुरा उजागर भइसकेको छ । यस्तो बेलामा टिकट पाइएन भनेर मौन बस्ने बेला होइन । कांग्रेसको पक्षमा प्रचारमा होमिने बेला हो । यो देश र लोकतन्त्रका लागि सक्रिय हुने अवसर हो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     6:19:54 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *