नैतिक संकटमा परेका जनता

रत्न प्रजापति

हामी जनताकै ठूलो त्याग र बलिदानीपछि मुलुकमा प्रजातन्त्र पुनर्बहाली भयो । हामी जनताकै संघर्षबाट फेरि निरंकुश भनिएको राजतन्त्र फालियो र मुलुकमा गणतन्त्र र लोकतन्त्रको स्थापना भयो । देशविदेशमा लागू भएको गणतान्त्रिक र लोकतान्त्रिक शासनपद्धतिलाई हेरेर भन्नेहरूले गणतन्त्र यस्तो राम्रो भने, उस्तो राम्रो भने । खोइ कस्तो राम्रो हो ? त्यो हामीले अझै अनुभूति गर्न पाएनौं अथवा अनुभूति गर्न सकेनौं । हाम्रा दुःखका दिन उस्तै रहे ।
संविधानसभाले नयाँ संविधान लेख्छ भने । जनताको नयाँ संविधान लेख्नुपर्छ भने । हामी खुसी भयौं, जनताकै संविधान लेखिने भो भनेर । फेरि पनि हामीले आफ्नै संविधान लेखिने आशामा हाम्रा प्रतिनिधि चुनेर पठायौं । तर तिनले संविधान नलेखी सत्तास्वार्थमा अलमलिएर आफ्नो कार्यकाल सकाए र भने फेरि अब एकचोटि अवसर दिनोस्, हामी संविधान लेख्छौं । हामीले पत्यायौं र फेरि भोट हालेर तिनैलाई जिताएर पठायौं । फेरि पनि संविधान लेख्नमा भन्दा देशलाई लुट्नमा तिनले आफ्नो तनमन लगाए । लोकतन्त्रलाई लुटतन्त्र बनाए । हामी लुटिँदै गयौं । हाम्रो सपनामाथि निरन्तर अत्याचार भइरह्यो । तर पनि हामीले आफ्नै संविधान पाउने आशा गर्न छोडेनौं ।

आउँछ कि आउँदैन भन्ने दोधारबीच बल्लबल्ल संविधान आयो । हामी खुसी भयौं । दीपावली ग¥यौं र उत्सव मनायौं । तर हाम्रो खुसी दुई दिन पनि टिक्न सकेन । संविधानमा आफ्नो भावना र मर्म नसमेटिएको भन्दै संविधान नै जलाउन तत्पर जमातबाट हामी आफैं पनि झस्कियौं । हाम्रै संसदले अनुमोदन गर्नुपर्ने संविधानलाई छिमेकी देशले अनुमोदन नगरी कार्यान्वयन नहुने स्थिति आयो । छिमेकीको असन्तुष्टिबाट हाम्रो संविधान कार्यान्वयन प्रक्रिया अवरुद्ध भयो । परिणामतः हामीले पाँच महिना लामो आर्थिक नाकाबन्दी समेत भोग्नुप¥यो । ग्यास, मट्टितेल, डिजेल र पेट्रोलका लागि हामीले हप्तौं र महिनौंसम्म लाइन बसेको र पालो कुरेको हामीले बिर्सेका छनैनौं । तैपनि हामी संविधान कार्यान्वयन हुनेमा आशावादी भइरह्यौं ।
संविधान कार्यान्वयनको मूल अस्त्र नै निर्वाचन हो रे । त्यसैले हामीले सबभन्दा पहिला स्थानीय तहको निर्वाचन ग¥यौं । आफ्नो गाउँठाउँको विकासका लागि भनेर हामीले हाम्रै प्रतिनिधि चुन्यौं । सुन्यौं, अब त सिंहदरबारको अधिकार गाउँमै आउँछ रे । हामी आफैं अधिकारसम्पन्न हुने थाहा पाएर हामी रमायौं । हुन त संविधानले नै हामीलाई सार्वभौम सम्पन्न बनाएकै हो । तर त्यो नाममात्रको भयो । हामी निरीह नै रह्यौं र हाम्रा नेताहरू मात्रै शक्तिशाली बने र बनिरहे । सिंहदरबारको अधिकार गाउँमा जानै नदिने प्रपञ्चहरू पनि रचिए । त्यसैले अझै पनि सिंहदरबारको अधिकार गाउँसम्म आएको अनुभूति हामीले गर्न पाएका छैनौं ।

संविधान कार्यान्वयनको अचुक अस्त्र संविधान भनेर फेरि पनि हामीलाई भनियो । हामीले मान्यौं । अब प्रदेशसभा र प्रतिनिधिसभाले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हकसहितको समाजवाद उन्मुख आर्थिक व्यवस्थाको संस्थागत गर्छ भनियो । संविधानमा लेखिएअनुसार आगामी ७ माघभित्र स्थानीय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना सुनिश्चित गर्नुपर्ने गुरुत्तर दायित्व राज्यसमक्ष छ भन्ने यथार्थलाई बुझेर हामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न आतुर भयौं । तर मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भएको झन्डै तीन दशक भइसक्दा पनि हामीले अपेक्षा गरेअनुसार मुलुकले आर्थिक तथा सामाजिक विकासमा फड्को मार्न नसकेको यथार्थबाट हामी अनभिज्ञ छैनौं । त्यसैले हामी आतुर हुँदाहुँदै पनि हामीमध्येकै केही जनतामा भोट हाल्ने उत्साह नहुँदा प्रदेश र प्रतिनिधिसभाको ३२ जिल्लामा सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशतमात्रै भोट खस्यो । यसअघि स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत भोट खसेको थियो । सोलुखुम्बू जिल्लाको तिङ्ला गाउँका जनताले स्थानीय तह निर्वाचनजस्तै यो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि बहिस्कार गरे । आमजनतामा राज्य र राजनीतिक पार्टीप्रति बढेको निराशाको द्योतक हो यो । लोकतन्त्रका लागि यो राम्रो संकेत पक्कै होइन ।

नेतृत्व तहको गैरजिम्मेवारीले मुलुकमा गरिबी, बेरोजगारी र आर्थिक असमानता झन् बढ्यो । लोकतान्त्रिक सरकारका गैरलोकतान्त्रिक राजनीतिक चरित्रले गर्दा मुलुकमा लगानीको वातावरण ध्वस्त भयो । उद्योगव्यवसाय धराशायी बन्दै गए र आन्तरिक उत्पादन र रोजगारी घट्दै गयो । यो अवस्थामा मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र संक्रमणकाल अन्त्यका लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अपरिहार्य छ भनियो, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले नै अहिलेसम्मका राजनीतिक उपलब्धिलाई संस्थागत गर्छ भनियो र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा आर्थिक क्रान्ति हुन्छ र देश विकास र समृद्धितर्फ उन्मुख हुन्छ भनियो । अनि हामी जनता फेरि एकपटक आसैआसमा निर्वाचनका लागि तयार भयौं । तर निर्वाचनमा फेरि पनि तिनै खराबमध्येका एक खराब नेतालाई चुन्नुपर्ने बाध्यताले हामी निराश छौं । हाम्रो निराशा पहिलो चरणको निर्वाचनमा देखिइ नै सक्यो । अब हुने दोस्रो चरणको निर्वाचनमा पनि यस्तै निराशा प्रकट हुने लक्षण देखिएको छ । हामी दोधारमा छौं । कुन मनले तिनलाई भोट हाल्ने ? कुन आशाले तिनलाई भोट हाल्ने ? हो, अब यो निश्चित छ कि हामीले भोट हालिसकेपछि नेताहरूको जित हुन्छ र हाम्रोचाहिँ हार हुन्छ । हामी जनताले जित्ने निर्वाचनचाहिँ कहिले हुन्छ होला ?

  • हिजो हामीले हालेको भोट खेर गयो । हामीले यस्तै अनुभव गर्नुप¥यो । किनभने चुनावपछि जे हुन्छ भनिएको थियो, त्यस्तो भएको अनुभव हामीले कहिल्यै गर्न पाएनौं । बरु १० वर्षमा ११ वटा सरकार बनाएर हाम्रा नेताहरूले सरकार बनाउने र गिराउने खेलमा कीर्तिमान नै राखे । देशलाई गरिब बनाएर आफू धनी बने । हामीलाई चाहि“ घा“टीमा गरिबीको परिचयपत्र झुन्ड्याउन बाध्य पारे

हामीले हिजोका दिनमा पनि धेरैपटक भोट हाल्यौं । आज पनि भोट हाल्दै छौं । हिजोका दिनमा चुनावपछि देशमा यस्तो हुन्छ र उस्तो हुन्छ भन्ने कुरा हामीलाई सिकाइयो र त्यहीअनुसार हामीले भोट हाल्यौं । आज पनि त्यस्तै कुरा सिकाइँदै छ र हामी भोट हाल्दै छौं । हामी जान्दैनौं राजनीतिक पार्टीहरूका सिद्धान्त । तर हामीलाई राजनीतिक पार्टीमा विभाजन गरिँदै छ विभिन्न पार्टीका सिद्धान्त सुनाएर । कसैलाई कुन पार्टी र कसैलाई कुन पार्टीमा विभाजित गरेर हामीलाई विभाजन गर्ने, एकअर्कोमा द्वेष उत्पन्न गराउने, लडाउने र भिडाउने प्रयत्न पनि गरिँदै छ । हामी लड्दै छौं र जुध्दै छौं । त्यसैले दुइटा पार्टीका कार्यकर्ता भेट हुँदा भिडन्त हुँदै छ र हामी खुकुरी हानाहान गर्दै छौं । यो परिपाटीले कसरी संविधानको पूर्ण कार्यान्वयन हुन्छ ? अनि कसरी देशमा आर्थिक क्रान्ति हुन्छ र हाम्रो देश विकास र समृद्धितर्फ लम्किन्छ ? हामीलाई गलत बाटोमा हिँडाउने प्रयास हाम्रो नेतृत्वतहले नै गरिरहेछ । अब हामी आफैं सचेत र सजग हुनु जरुरी भइसकेको छ । त्यसैले भोट हाल्नुअघि एकपटक विगतको सिंहावलोकन र वर्तमानको मूल्यांकन गर्नु पनि आवश्यक भएको छ ।
हिजो हामीले हालेको भोट खेर गयो । हामीले यस्तै अनुभव गर्नुप¥यो । किनभने चुनावपछि जे हुन्छ भनिएको थियो, त्यस्तो भएको अनुभव हामीले कहिल्यै गर्न पाएनौं । बरु १० वर्षमा ११ वटा सरकार बनाएर हाम्रा नेताहरूले सरकार बनाउने र गिराउने खेलमा कीर्तिमान नै राखे । देशलाई गरिब बनाएर आफू धनी बने । हामीलाई चाहिँ घाँटीमा गरिबीको परिचयपत्र झुन्ड्याउन बाध्य पारे । तैपनि हरेक सरकारबाट अब त केही हुन्छ कि भन्ने आशा गर्न छोडेनौं हामीले । तर हाम्रो आशा केवल आशामै सीमित भइरह्यो ।

हरेक निर्वाचनमा सपना देखाउनेले हामीलाई धेरैथरी सपना देखाए । यस्तो सपना एकपटक होइन, धेरैपटक देखाइयो । हामी आफैंले पनि सपना देख्यौं विकास, निर्माण र समृद्धिको । सपना देख्नु हाम्रो भुल थिएन । सपना देखाउनुमात्रै पनि भुल थिएन । तर सपना देखाइएअनुसार काम नगर्नु त्यो चाहिँ गम्भीर भुल हो । यस अर्थमा हामीले चुनेर पठाएका हाम्रा नेताले गम्भीर भूल गरेका छन् । यस्तो भूल एकपटक होइन, दुईपटक होइन, धेरै पटक भइसकेको छ । यस्तै भूल गर्नेलाई फेरि हामीले भोट हाल्नुपर्ने समय आएको छ । अब सपनैमात्र देखेर कति भुल गरिरहने हामीले ? न हामीले देखेको सपना पूरा भएको छ । न त हामीलाई देखाइएको सपना नै पूरा भएको छ । सपना पूरा हुने आशैआशमा बाँच्न विवश हामी जनता अझै पनि सपना पूरा हुने आशामा हामीलाई जनता होइन सके जन्तु र नसके कमसेकम जन्ती बनाउन पल्केका लुच्चा, फटाहा र घुस्याहा नेताहरूलाई हामीले अझै कति विश्वास गरिरहनुपर्ने हो ? भोट हाल्दा पनि गलत मान्छेलाई भोट हालिएछ भनेर पछुताउर्ने, भोट नहाल्दा पनि संविधानले नै दिएको आफ्नो मताधिकार प्रयोग नगरेको भनेर पछुताउनुपर्ने । यो कस्तो नैतिक संकटमा परेका छौं हामी जनता ?

निर्वाचन लोकतन्त्रको नियमित प्रक्रिया हो । निर्वाचनपछि देशमा विकास र समृद्धि आउँछ भन्ने सुन्दा भोट हाल्ने उत्साह बढ्छ । तर नेताहरूको अनुहार र व्यवहार सम्झेर त्यो उत्साह त्यसैत्यसै सेलाउँछ । त्यसैले अस्ति १० मंसिरको पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्ने हामीमध्ये धेरैलाई भोट हालेकोमा पछुतो लागेको छ र थोरैलाई मात्र खुसी लागेको छ । अब २१ मंसिरमा भोट हाल्नेले पनि यस्तै अनुभूति गर्नुपर्ने निश्चित छ । किनभने लोकतन्त्रलाई संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने गहन जिम्मेवारी संहाल्नेहरू राजनीति पढेका, राजनीति सिकेका, जिन्दगीभरि राजनीति गरेका र राजनीतिकै लागि ठूलो त्याग र तपस्या गरेका भन्दा पैसाको बलमा चुनावी मैदानमा उत्रिएकाहरू धेरै छन् । अब त यस्तो लाग्दैछ, पैसा नदिई पार्टीले टिकट नै दिँदैन र ह्वारह्वार्ती पैसा खर्च नगरी चुनावै जितिन्न । यस्तै हो भने अबको पाँच–दश वर्षमा राजनीति पढेका, राजनीति सिकेका, जिन्दगीभरि राजनीति गरेका र राजनीतिकै लागि ठूलो त्याग र तपस्या गरेका भन्दा धेरै पैसा भएका व्यापारी, ठेकेदार, गुन्डा, अपराधी र भ्रष्टाचारीहरू नै नेपालको राजनीतिमा हाबी हुनेछन् । किनभने पार्टीले यस्तै मान्छेलाई पत्याउँछन् । अब कसरी यस्ता मान्छेलाई भोट दिएर जिताउने ? साँच्चै हामी जनता नैतिक संकटमा परेका छौं ।

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     4:05:53 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *