वीरपथमा लङ्मार्च

सर्खेतबाट ११३ किलोमिटरको दुरीमा पर्ने शाहीखोलामा पुगेपछि हामी पक्कीसडक छाडेर पश्चिमपट्टि लागेका मात्रै के थियौं हाम्रो यात्रा घ्याच्च रोकियो । हाम्रो अगाडी लमतन्न सुतेको छ कर्णाली नदी । अछाम र दैलेख जिल्ला मात्र होइन भेरी र सेती अञ्चलको समेत सिमानाको काम गरिरहेको कर्णाली नदी यहाँनिर तल तराईको जस्तो विशाल र फराकिलो नदेखिएपनि दह परेको नीलोनीलो पानीलाई हेर्दा भने निकै गहिरो छ जस्तो देखियो । सुर्खेत—जुम्ला सडक कर्णाली नदीको किनारैकिनार साँगुरो पहाडको काखैकाख उत्तरतिर लाग्यो । हामीलाई भने सानो काठको डुङ्गा तरेर पारिपट्टि पुग्नु छ र लाग्नु छ अछामतर्फ ।

अलि पर कर्णाली नदीमाथि आधा बन्दै गरेको भन्दा पनि हुने, आधा भत्केको भन्दा पनि हुने जस्तो पुलाकृति देखियो । बास्तबमा त्यो कर्णाली नदीमुन्तिर गहिराईमा विशाल पत्थर भेटिएर पुलको खम्बा बनाउन जग खन्न नसकिएकोले बन्दाबन्दै काम रोकिएको पुलको आधा भाग रहेछ । पुल बन्ला र कर्णाली वारपार गर्न सजिलो होला भन्ने आशाले दक्षिणपूर्वी अछाम र दैलेखको पश्चिमी भेगका वासिन्दालाई वर्षौदेखि रोमाञ्चित पारिरहे पनि काठे डुङ्गाबाट नदी पार गर्ने नियति युगौंयुगदेखि ब्यहोरिरहेका छन् मान्छे । यस भेगका बासिन्दाले व्यहोरिरहेको त्यो नियति भोग्न आज हामी आईपुगेका छौं ।

यौटै सल्लाको रुख काटेर, ताछेर सुलुत्त पारेर बनाइएको साँगुरो डुङ्गाबाट थापा र शाह थर भएका दुई जनाले ससाना बहनाले खियाँदै–खियाउँदै नदी पार गराउँदा साँच्चिकै रोमाञ्चित पनि भइँदोरहेछ र डर पनि लाग्दोरहेछ । डुङ्गा चलाउने थापा थरका युवक त सुर्खेतमा कृयाशिल पत्रकार—साहित्यकर्मी गणेश कञ्चन थापाका दाई रहेछन् । परिचय भएपछि उनले भाडा लिन मानेनन् तर उनको जोखिमपूर्ण पेशालाई हेरेर पारिश्रमिक नदिई जान मनले मानेन । ‘भाउ झिक्क पैसा लियाऊ भनिखण्ड काँइँ रिसाउन्याँ हो के ?’ (पैसा ज्यादा लग्यौ भनेर कतै भाइ रिसाउने त हैन ?) भन्दै अफ्ठ्यारो–अफ्ठ्यारो मानेर उनले पैसा लिए । पैसामुखी चरम पुँजीबादले संसारै सर्लक्क छोप्न लागेको आजको युगमा पनि पैसाभन्दा सहयोगलाई महत्व दिने यस्ता मान्छे पनि भेटिदा रहेछन् अझैं । एकैछिनको परिचयले पनि अपनत्व प्रकट गर्ने ती डुङ्गावाला दाइ हामीलाई मोहन कोइरालाको कवितासङ्ग्रह ‘नदी किनाराका माझीहरु’ का सरल माझी जस्तै आत्मिय र प्रेमिल लागे ।

कर्णाली त तरियो, अब हामीलाई ४९ किलोमिटर बाटो छिचोलेर मङ्गलसैन पुग्ने चुनौति छ । पश्चिमोत्तर दिशालाई गन्तव्य बनाएर हामी शाहीखोलाबाट सोझैं उकालो लाग्यौँ । भर्खरभर्खर डोजर लगाएको, वर्षात्को पानीले खहरेमा परिणत भएको आक्कलझुक्कल ट्रेक्टर हिड्ने, चुच्चे ढुङ्गा तथा रातो माटोले चिप्लो बनाएको सडकले हाम्रो यात्रालाई गिज्याएजस्तो ग¥यो तर हाम्रो उत्साह भने ‘लङ्मार्च’ गर्न हिडेका छापामारको भन्दा केही कम थिएन । खाल्डाखुल्डी भएको त्यो उबडखाबड बाटोलाई मध्यपहाडी लोकमार्ग भनिदोरहेछ । ‘छोरो पाउनु कहिलेकहिले कन्धनी बाट्ने अहिले’ भनेजस्तै बाटो तयार हुनु कहिलेकहिले नाम राख्न भने हतार भईसकेजस्तो लाग्यो । कुच्ची भन्ने ठाउँमा पुगेपछि ठाडो उकालो सकियो र बाटो पहाडका साना ठूला थुम्काको वरिपरि फन्को मार्र्दै अघि बढ्यो । घण्टौंको कुँदाई पछि हामी विनायक भन्ने ठाउँमा आई पुग्यौँ । ‘भैसोले’ भनिने अछामको दक्षिणपूर्वी भेगको ऐतिहासिक ठाउँ विनायकको उराठलाग्दो थुम्को अल्छी मानेर मुस्कुराउन खोजिरहेको छ । विनायकको शिरैमा स्थापत्य शैलीमा बनाइएका पाँच वटा देवल उभिएका छन् । मस्टोपुजक खस जातीको भूमि अछाममा वैदिक हिन्दु धर्मविधान अनुसार सम्भवतः पाञ्चजन्य देवताको प्रतीकको रुपमा पञ्चदेवलको स्थापना गरिएको हुनुपर्छ । सातसय वर्ष अगाडि विक्रम संवत् १३३७ सालमा जुम्लाका अक्षयमल्ल नाम गरेका एकजना ठकुरी राजकुमारले जुम्ली साम्राज्यको बर्चस्व र कीर्ति देखाउन यसको स्थापना गरेका हुन् रे तर आज त्यही पञ्चदेवल यस भेगको स्थानिय चिनारी गराउने एक्लो पुरातात्विक धरोहर बन्न पुगेको छ । इतिहासका यी दृष्टान्तसित निरपेक्ष रहेर देवलका आँगन र पटाङ्गिनीमा ताश खेलिरहेका छन् केही अधबैंसे र युवा ।

नेपाल एकिकरण अभियानमा लागेका गोर्खाली सैनिक करिब दुईसय पच्चिस वर्ष अघि यही बाटो भएर पश्चिम लागेका थिए । मध्यपहाडी लोकमार्ग पनि वीरपथलाई छिचोलेर अगाडि बढ्छ । दैलेख जितेर पश्चिम लोगेका गोर्खाली सैनिकलाई कर्णाली तर्न र विनायक जित्न निकै मेहनत गर्नु परेको थियो । विनायकपट्टिबाट आएको अछामी सेना र पूर्वबाट आएको गोर्खाली सेनाका बीचमा शाहीखोलामैं पहिलो युद्ध भएको थियो । अछाम तर्फका करिब डेड सय सैनिक यहाँ मारिएका थिए । युद्ध विजेता गोरखाली सैनिकले ओहोरदोहोर गर्ने गरेकोले यो पुरानो बाटोको नाम वीरपथ रहन गएको हो भन्छन् जानकारहरु । हाल वीरपथ नामको यौटा गा.वि.स. पनि छ अछाममा । वीरपथको गैरीटाँडमा सानो बजार छ । कमलबजारबाट आउने बाटो गैरीटाँडमैं मध्यपहाडी लोकमार्गसित मिसिन्छ ।
कुच्चीको उकालोले हिमाल आरोहणको झझल्को दिलाए पनि यो ठाउँ भौगोलिक रुपले त्यति विकट छैन । शाहीखोलादेखि वीरपथसम्म धानखेतीले पहेँलपुर भएका पाखा र तलतलका रसिला फाँट, गह्रा निकै उर्वर छन् । भीरपहरा र चट्टाने पाखाहरु खासै नभएको यो भेग अन्न भण्डारकै रुपमा परिचित छ । उहिलेउहिले बाजुरा र जुम्लातिर अनिकाल पर्दा ‘बेसाहा किन्न भैसोले जाने’ उखान नै चलेको थियो । असोजको महिनामा यहाँ आएर पहँेलपुर धानबारीलाई हेर्दा त्यो उखान चल्नुको अर्थ थाहा पाइयो ।

गैरीटाँडको लामो कुँइनेटो र वीरपथका अनेकौं घुम्तिमा फन्को मारेपछी हात्तीबाँजबाट बाटो उकालोउकालो चढ्न थाल्यो । बस्ती पनि पातलिदै गयो । जतिजति उकालो लाग्यो उतिउति सिरसिर बतास चल्ने असोजको याम, यतातिर अलि छिटै अँध्यारो हुँदोरहेछ । उहिले गोर्खाली सेनाले राष्ट्रिय एकिकरण अभियानको झण्डा उँचाल्दै ‘लङ्मार्च’ गरेको यो बाटोमा कहिले बेठबेगारी गर्नेहरुको लर्को लाग्यो होला । कहिले बम्बैमा चौकिदारी गर्न जाने ‘बम्बैवाला’ हरु त कहिले कालापहाडमा ‘बोज’ (भारी) बोक्न जाने कामदारहरुले यही बाटोमा पैताला घिसारे होलान् । मैथामाडुँ तथा डौंठ्यागडाका मेला हेर्न जाने ‘छोरेट्टा छोरेट्टी’ हरु र मुडा तथा राजापुरका हाटमा नुन लिन जाने ‘हटारु’हरुका अनगिन्ती कथा पनि यही बाटोमा छरिएका छन् । २००७ सालपछि राजनैतिक पार्टीका जुलुश र पञ्चायतकालका पञ्च¥यालीले जिन्दाबाद र मुर्दाबादका नारा लगाएर यही बाटो कति ओहोरदोहोर गरे होलान् कति ? माओवादी छापामारहरुले यही बाटोमा ‘लङ्मार्च’ गर्दै मङ्गलसैनलाई क्षतविक्षत पारेको घटना त झन् एक दशक भन्दा पनि पुरानो भएको छैन । यस्ता अनेकौं कथा र व्यथा अनि अनुभव र इतिहास बोकेको वीरपथको यो धुले सडक कदाचित् सुरेश किरणको कविताको शिर्षकझैं मनमनै भन्दो हो ‘म एउटा बाटो, बटुवाले छोडिगएको’ । आज हामी त्यही बाटोमा गजलका भाव पछ्याँउदै कुँदिरहेका छौं ।

बोटबिरुवाले ढकमक्क ढोकेको यौटा हरियो पाखोको फन्को मारेपछि हामी ठूलासैन भन्ने भन्ज्याङ्निर आइपुग्यौँ । यहाँबाट उत्तरतिर फर्केको पाखोमैं फैलिएको रहेछ मङ्गलसैन । भन्ज्याङ् काटेर जतिजति तलतलतिर झर्दै गयो उतिउति बस्ती बाक्लिदै जान थाल्यो । ढुङ्गा र सिमेण्टका घर बाक्ला देखिन थाले । अघिसम्म महसुस भैरहेको प्राकृतिक कोमलता हराउन थाल्यो र शहरी प्रदुषणले नाकमा अतिक्रमण गर्न थाल्यो । मङ्गलसैनको अछाम गेष्टहाउसमा पुगेपछि आँगनको कुनामा थुपारिएका रक्सीका खाली बोलत र प्लाष्टिकका थोत्रा सामानको डङ्गुरलाई हेर्दा भने साँच्चिकै थकाई लागेर आयो । मङ्गलसैनको पहिलो झल्को अति प्रितीकर थियो, प्रथम साक्षात्कारले भने मन कुँडियो । मैले मनमनै प्रश्न गरेँ के आधुनिकता र विकास भनेको यिनै रक्सीका खाली बोलत र प्लाष्टिकका थोत्रा सामान नै हुन् त ? ।

अचेल मङ्गलसेन लेखिने तर जनजिब्रोमा मङ्गलसैन नै बनेर बसेको यस बजारको यौटा कुनामा रहेको जिविसको साँगुरो सभाहलमा आज अनौठो रौनक चढेको छ । टनाटन भरिएको हलमा साहित्य सुनाउने भन्दा सुन्नेको भीड देखियो । अछाममै जन्मिएका अग्रणी गजलस्रष्टा ललिजन रावल मञ्चमा विराजमान छन् । झनक अधिकारी ‘बारुद’ प्रभावशाली शैलीमा गजल सुनाउँदै छन्ः

‘परिक्षण गरेर मात्रै रहस्य थाह भो
हिउँ जमेको रहेछ आँखामा रोदनको
ढुङ्गाजस्तै दरिलो बनाउनु मुटु अब
नत्र भुकम्प आउन सक्छ धड्कनको’

हिमाल उदासी, टेकराज भण्डारी, मनोज विवश, कमल संघर्षजस्ता स्थानिय स्रष्टा गजलीय मुस्कान पोख्दै व्यवस्थापनमा खटेका छन् । विभिन्न जिल्लाबाट आएका सय बढी स्रष्टाले दुई दिनसम्म आआफ्ना बान्कीका सिर्जना पस्किए । ‘बिरालो बाँधेर श्राद्धे गर्ने’ परम्पराको निर्वाह गरेझैं सम्मान, विमोचन, मन्तव्य, अन्तरकृया र कोसेली हस्तान्तरणका चरण पनि पुरा गरिए । भरत रोदन साउदले प्रस्तुत गरेको कार्यपत्रमा केही छलफल, मन्थन तथा विचारोत्तेजक बिमर्श पनि भयो र नेपाली गजलमा देखिएका भ्रम तथा भ्रान्ति हटाउने प्रयत्न पनि गरियो ।
नेपाली गजलमाथि यो बौद्धिक हुन सकेन, ‘टिनएजर्स’ को रहर मेटाउने लहडी विधा मात्रै बन्यो, काव्यको अनुशासनलाई गजलले छुनै सकेको छैन, गजलकारहरु चुट्किलाकार वा दोहोरीगीत गायकको स्तरभन्दा माथि उठ्नै सकेका छैनन् भन्ने आरोप लाग्दै आएका छन् । यी आरोप पूर्णसत्य नभए पनि निराधार भने छैनन् । ‘अछाम गजल महोत्सव’ मा पनि यसको छायाँ नदेखिएको हैन । बास्तबमा साहित्यलाई त्यसको बौद्धिकता र गहनताले नै स्तरिय बनाउने हो । प्रायःजसो आमगजलकार निम्नकोटीको चिन्तन र भद्दा विषयमैं रुमल्लिरहेका भए पनि गजलको भीडबाट उच्चकोटीको चिन्तन र विशिष्ट कला बोकेका स्रष्टाहरु अचेल सुस्तसुस्त आफ्नो परिचय बनाउन लागेका देखिन्छन् । यो क्रममा जति गति आउँछ गजल त्यति नै बलियो र स्तरिय हुँदै जाने हो । ‘अछाम गजल महोत्सव’ को उद्देश्य पनि गजलको बौद्धिक उन्नयनमा यौटा कोसेढुङ्गा थप्नु नै थियो । ‘भीडबाटै भीमको छनोट हुन्छ’ भन्ने भनाईलाई सम्झिएर हेर्दा युवाहरुको त्यस जमघट, उत्साह र खटाईको बिचमा सिर्जनाका केही बौद्धिक छनकको आशा राख्नु स्वाभाविकै हो । तर महोत्सवको अधिकांश समय र उर्जा होहल्लामैं खर्च भएको देखियो । पर्याप्त मनोरञ्जन र रमाइलो त भयो तर महोत्सवको सार्थक उद्देश्य भने कताकता अधुरै रहेको महसुस भयो । कवि नादीर शर्माले सुनाइरहने ठ्याक्कै यो अछामी भाषिकाको तुक्का जस्तै ः

‘एकलोटा पानीका लागि आमा गइँ झकाल्या
कानौँदा जुथारी पाथर जैगडम्बो हन्डो’

(एकलोटा पानीका लागि आमा झकाल्या भन्ने गाउँसम्म पुगिन् तर ऊ भने काँधमा पानी भर्ने भाँडा झुण्ड्याएर जयगढको उकालोमा हिंडीरहेछ)

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     6:37:17 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *