चुनाव जित्न ‘महिलाको भर’

जुम्ला : कर्णालीका उम्मेदवारलाई यसपटक आफ्नो जित महिला मतदाताको भरमा देखिएको छ । यहाँका अधिकांश पुरुष मतदाता मजदुरीका लागि भारतको कालापहाड पसेपछि गाउँमा महिला मतदाता मात्र बाँकी छन् । यही कारण आइतबार हुने निर्वाचनमा उम्मेदवारहरूलाई जितका लागि महिला मतदाताको भर पर्नुपर्ने अवस्था आएको हो ।

खेतीको काम सकेर अधिकांश पुरुष रोजगारीका लागि भारत पसेका छन्, जसका कारण पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी छ । महिला मत निर्णायक हुने भएपछि यहाँका उम्मेदवार महिलालाई रिझाउन अन्तिम कसरतमा देखिएका छन् । मौन अवधि भए पनि उम्मेदवारहरू भित्रभित्रै महिला मतदाता रिझाउन लागेका हुन् ।

जुम्लाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार वाम गठबन्धन बलियो देखिएका छ । यो क्षेत्रमा एमाले र माओवादी केन्द्रका तर्फबाट नरेश भण्डारी र कांग्रेसबाट राजुसिंह कठायत उम्मेदवार छन् । कठायत आफ्नो जितका लागि महिला मतदातामाथि नै भर परेको देखिन्छ । उनले महिलाको मत तान्न पार्टीका महिला नेतालाई परिचालन गरेका छन् । उनले चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई अघि सारेका हुन् ।

‘यहाँ जितका लागि महिलाको मत निर्णायक छ’, मेयर सेजुवालले भनिन्, ‘महिलाको मन जित्न सके उम्मेदवारले जित्ने अवस्था छ, त्यसकारण पनि हामीले आमा समूह र महिला सञ्जालहरूमा फोकस दिएका छौं ।’ (अन्नपूर्णबाट)

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     8:35:25 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *