न्यायाधीशकै अगाडि विष पिएर आत्महत्या

हेगस्थित युद्धअपराध सम्बन्धी राष्ट्रसंघीय अदालतमा न्यायाधीशकै अगाडि एकजना युद्धअपराधका अभियुक्तले विष पिएर आत्महत्या गरेका छन् ।

युद्धअपराधको आरोपमा हेगस्थित अदालतमा उपस्थित गराइएका बोस्नियाली क्रोएसियन सेनाका तत्कालीन कमान्डर स्लोबोडन प्रालजकले आफूविरुद्धको मुद्दामा न्यायाधीशले फैसला सुनाइरहँदा न्यायाधीशकै अगाडि विष पिएका हुन् ।

जब न्यायाधीशले फैसला सुनाइरहेका थिए, तब प्रालजकले घटघटी विष पिए ।

बोस्नियाली मुस्लिममाथि अत्याचारको मामिलामा उनीमाथि २० वर्षको जेल सजाय भएको थियो र त्यसविरुद्ध उनले राष्ट्रसंघमा अपिल गरेका थिए ।

सन् १९९० मा युगोस्लाभिया टुक्रिने समयको अपराधसँग जोडिएको यस मामिलामा न्यायाधीशले उनको अपिल समेतमा सुनुवाई गरी अन्तिम फैसला सुनाउँदै २० वर्षको जेल सजायलाई सदर गरेका थिए ।

न्यायाधीशले फैसला सुनाउँदै गर्दा उनले चिच्याउँदै भने– प्रालजक अपराधी होइन । म तिम्रो सजाय अस्वीकार गर्दछु ।

त्यसपछि उनले एउटा सिसी गोजीबाट निकालेर त्यसलाई खोलेर सबैका अगाडि त्यसमा रहेको चिज पिए ।

त्यसपछि प्रालजकको वकिल चिच्याएर प्रालजकले विष पिएको बताए । प्रालजकलाई तत्कालै अस्पताल लगियो । तर अस्पतालमा उनको ज्यान गयो ।

एजेन्सी

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४     6:12:11 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *