नीति, नैतिकता र निष्ठाको अभाव

शिवप्रसाद सिग्देल

स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको संघारमा आइपुग्दासम्म चुनावी प्रचारशैली यतिसम्म असभ्य देखियो कि नेपालको विकास, शान्ति र कानुनी शासनको प्रत्याभूत गर्न सकिने आधार छैनन् । खाली एकले अर्कोलाई खुइल्याउने प्रचार बढी देखिएको छ । लोकतन्त्रमा तालमेल, गठबन्धन हुनु स्वाभाविक हो, ध्रुवीकरण पनि हुन्छ । तर जुन प्रकारको ध्रुवीकरण देखिएको छ, त्यसबाट नेपाल दुई दलीय पद्धतितिर उन्मुख हुने सम्भावनालाई नकार्न सकिन्न ।

मूलको पानी र कुलको सन्तान सधैं स्वच्छ र इमानदार हुन्छ भनिन्छ । मूल प्रदूषित भएपछि, अभिभावक नैतिकहीन बनेपछि न पानी पिउन लायक रहन्छ, न सन्तान सद्विचारमा रहन्छन् । यस्तै देखिन्छ हाम्रो मुलुकको बन्दोबस्ती । 

वाममोर्चा भनिरहेको छ, लोकतन्त्र होइन, चुनावको नतिजा आएपछि कांग्रेसचाहिँ मासिन्छ मासिन्छ । लोकतान्त्रिक गठबन्धनका अगुवा प्रधानमन्त्री नै भनिरहेका छन्– वाममोर्चाले चुनाव जित्यो भने फेरि कहिल्यै चुनाव हुनैछैन, रुन पनि पाइनेछैन । प्रजातन्त्र मास्ने कि कम्युनिष्ट जिताउने ? भनेर मतदातालाई प्रजातन्त्र बचाउन अपिल गरिरहेका छन् ।

कुनै पनि दलले नैतिक हुन्छौं, हिजोका दिनमा जे जति अनैतिक क्रियाकलाप भएका छन्, भ्रष्टाचार गरिएका छन्, अब त्यस्तो हुनेछैन । विधिलाई मजबुत पारेर लोकतन्त्रको राजमार्ग निर्माण गर्छौं भनेका छैनन् । यस्ता अभिव्यक्ति दिएर कुनै पनि पार्टी वा तिनका नेताले सपथ खाएनन्, जनतालाई आश्वस्त पारेनन् । खाली असम्भव लाग्ने सपना बा“डिरहेका छन् । विकासको मूल फुटाउने डिङ मात्रै हा“किरहेका छन् । नैतिकरूपमा जनताप्रति जिम्मेवार, राष्ट्रप्रति बफादार र स्वाधीनताप्रति इमानदार हुन्छौं भनेर कुनै नेताले भन्न सकेनन् ।

यो चुनावमा पनि जनताको जनादेश लिएर देशको प्रतिनिधित्व गर्न चाहेका दलहरूले नैतिकताको कसीमा खरो उत्रन्छौं भन्न नसकेकाले आउने दिनमा पनि जनआन्दोलनपछिका १२ वर्षमा जुन दुर्गति भोग्नुपरेको छ, अन्याय र अत्याचार जुन किसिमले बढेको छ, ठूला दलहरूको भागबण्डामा शासन चलाउने र त्यही नै संविधान हो भन्ने भान पारिएको छ, त्यस्तै हुने खतरा देखिन्छ ।

नैतिकता भनेको त्यो बन्देज हो, जसले लोकलज्जामा बस्न सिकाउ“छ र कसैले नैतिकहीन भन्छ कि भन्ने सदैव हेक्का राख्न लगाउ“छ । त्यसैले त बेलायतमा लिखित संविधान नभए पनि नैतिकताले पद्धति चलेको छ । हामी संविधान संविधान भनिरहेका छौं, नैतिक धरातलबाट च्यूत भएको थाहै पाउ“दैनौं । नैतिकता नभएपछि केको शरम, यस्तालाई संविधान भनेको कागजको खोस्टो मात्र हो ।

यसकारण हाम्रा भावी दिन उज्याला छन् भनेर भन्न सकिन्न । साधनस्रोत भएर पनि गरिब छौं । गौरवमय इतिहास भएर पनि गरिब छौं । यसको मूल कारण नीति, नैतिकता र निष्ठामा कमीकमजोरी भएर नै हो । हाम्रो नेतृत्वमा इमान भयो कि बा“की गरिबी आफैं दूर हु“दै जानेछ । नेपालको सबैभन्दा ठूलो रोग, डरलाग्दो चुनौती भनेकै नैतिकहीनता हो । नैतिकहीनताले देशलाई भ्रष्टाचारमय बनाइरहेको छ । देशलाई कंगाल बनाइरहेको छ ।

मूलको पानी र कुलको सन्तान सधैं स्वच्छ र इमानदार हुन्छ भनिन्छ । मूल प्रदूषित भएपछि, अभिभावक नैतिकहीन बनेपछि न पानी पिउन लायक रहन्छ, न सन्तान सद्विचारमा रहन्छन् । यस्तै देखिन्छ हाम्रो मुलुकको बन्दोबस्ती । राजनीतिमा नैतिकहीनताको फोहोरी नाली नै पसेको छ । त्यसैले त नेताहरू, शासक प्रशासकहरू नाक थुन्नुपर्ने गरी गनाइरहेका छन् ।

मूल भनेको विधिको शासन हो, कुल भनेको राजनीतिक दलहरू हुन् । संविधान बन्यो, विधि बस्न सकेन । ठूला नेताहरू एकापसमा मिल्छन्, त्यसैलाई संविधान, विधि भन्ने गरिएको छ । योभन्दा लाजमर्दो अरू के हुन्छ ? शासनविधि अस्तव्यस्त भइरहेको छ । कुल अर्थात राजनीतिक दलहरू हुन्, उनीहरू आफैं अव्यवस्थाका प्रेरक उदाहरण बनेका छन् । कसरी मुलुकमा सुशासनको कल्पना गर्न सकिन्छ ?

अनियमितता, गैरजिम्मेवारी, कर्तव्यहीनता र भ्रष्टाचार हुने भनेको जहा“ शक्ति हुन्छ, त्यहीबाट हो । अहिले मुलुकमा पन्पिएको भ्रष्टाचार र राजनीतिको माफियाकरणको तीतो यथार्थ भनेको राजनीतिको स्रोत भ्रष्टाचार, भ्रष्टाचारको स्रोत शक्ति हो । अब त चुनावमा खुलेआम डन र धनको प्रयोग भइरहेको छ । डन र धनको प्रयोगबाट चुनावको नतिजा आएपछि यो चुनावबाट सुशासन जन्मेला कि कूशासन ? कूशासन जन्म्यो भने फेरि देशमा विगत १२ वर्षमा जुन दुशासनको चर्तिकला देखियो, फेरि त्यो दोहोरिनेछ र हामी असफलताको दलदलमा झन्झन् भासिँदै जानेछौं । यो सहजै अनुमान गर्न सकिन्छ ।

हरेक ठूला पार्टीका बडे बडे नेताहरूसमेत भ्रष्टाचारमा गनाएका छन् । नक्कली सम्पत्ति विवरण बुझाउ“छन् र सक्कली भ्रष्टाचारी, दूराचारी बन्छन् । यस्ता नेताले संविधान कार्यान्वयन भनेर कुर्लिरहेका छन्, नेता नैतिकवान् भए संविधान त्यसै कार्यान्वयन हुन्छ । जनताको मन जित्नै सकेनन् संविधान र नेताहरूले, संविधान कार्यान्वयन भए के नभए के ? आखिर हुने त्यही हो, ठूला दलहरूले भाग शान्ति जय नेपाल गर्ने न हुन् ? हामी विधि खोजिरहेका छौं, हामीले पाउने उही स्वार्थ र मिलोमतोको पापी राजनीति नै हुनेछ ।

नागरिक पवित्रता खोजिरहेका छन्, भ्रष्टाचार पन्पिँदै गएको छ । अहिले त हदैसम्मको भ्रष्टाचार र माफियाकरण भइरहेको छ । लोकशासनमा जति भ्रष्टाचार कुनै पनि शासनमा भएका थिएनन् । भ्रष्टाचार भयो भन्ने हल्ला चल्छ, अदालतमा मुद्दा पनि पुग्छ र भ्रष्टाचारीले सहजै उन्मुक्ति पाउ“छन् । यो पद्धतिको दोष होइन, नैतिकहीनताको पराकाष्ठा हो । जबसम्म जनप्रतिनिधि, शासनाधिकारीहरूमा नैतिकताको बोध हुन्न, तबसम्म जस्तोसुकै व्यवस्था आए पनि पवित्र बन्न सक्दैन । भ्रष्टहरूले बिटुल्याउनेछन् ।

अब त अति भयो । भ्रष्टाचारको मुद्दा जनताबाट ज्वारभाटा बनेर उठ्नुपर्ने हो । जनता कतिसम्म राजनीतिकीकरण भइसके भने, एकथरिको कुरा अर्काथरिले पूर्वाग्रह मात्र ठान्न थालेका छन् । नागरिक समाज र अधिकारकर्मीसमेत राजनीतिक कित्ता कित्तामा काटिएका छन् । स्वच्छ, स्वतन्त्र समाजको संरचना भत्किएको छ । भत्किएको समाजले सरकारलाई खबरदारी गर्न सक्दैन । सार्वभौम जनता मात्र चुनावी भोटमा सीमित हुन पुगेका छन् । भोटमा अन्तरनिहित शक्ति छिन्नभिन्न हुन पुगेकाले जनशक्ति कमजोर र राजनीतिक नेताहरूको शक्ति बढेको छ । नेताहरूलाई भ्रष्ट, अनैतिक, अपराधी र माफियाहरूको प्रभावले थिच्ने हु“दा सुशासन स्यालको सिङझैं गायब हुन पुगेको छ । लोकतन्त्रको आवरणमा अपराधीकरण दिनदिनै बढेर गएको छ । स्वाधीनता यिनकै मुठ्ठीको माखो बन्न पुगिसक्यो । तीतो यथार्थ, लोकतन्त्र हो कि लुटतन्त्र, छुट्याउनै मुस्किल छ ।

कसरी बचाउने यो राष्ट्रघाती भ्रष्टाचार र आवश्यकताभन्दा ज्यादा राजनीतिकरणको रोगबाट लोकतन्त्रलाई ? क्यान्सरभन्दा भयानक छ– भ्रष्टाचार । भ्रष्टाचारले नेता, कर्मचारी, व्यापारी, उद्यमी, नागरिक समाजको समेत आचरण बिगारिसक्यो । यसको शुद्धीकरण हुन सकेन भने सुशासन खाइसक्यो, देश टोक्न सक्छ । देश बोक्ने शक्ति क्षीण पारिदिएपछि देश असफल हुन्छ । भ्रष्टाचारको रोगले नेपालको राष्ट्रियतालाई भित्रबाहिर दुवैतिर चपाइरहेको छ ।

राजतन्त्र समाप्त भए नया“ नेपाल बन्छ भनियो । राजतन्त्र र हिन्दूधर्म फालेपछि त नैतिकताको खडेरी नै परेको छ । नया“ होइन, भएको नेपाल पनि सिद्धिन्छ कि भन्ने भय पो पस्यो मनमनमा । अनियमितता, भ्रष्टाचार र अख्तियारीको दुरूपयोग गर्नु नै लोकतन्त्र हो भन्ने अवस्था सिर्जना भएको छ ।

प्रदेश र प्रतिनिधिसभाको अन्तिम चरणको चुनाव संघारमा आइसक्यो । कुनै नेता अथवा पार्टीले भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्धता व्यक्त गरेनन् । मात्र विकासको डंका पिटेका छन्, गर्न नसकिने आश्वासन बा“डिरहेका छन् । जनताको आ“खामा भ्रम छरेर जनमत लिने दाउपेच लगाइरहेका छन् । हुने नहुने कुरा बोलेर जनतालाई भ्रमित पार्नुभन्दा मात्र नैतिक बन्धनमा बस्छौं, समानता र योग्यताको कदर हुने अवस्थाको सिर्जना गर्छौं, जनअपेक्षा सम्बोधन गर्ने प्रयास गर्छौं भनेर भोट मागेको भए नया“ नेपालको जग बस्ने नैतिक धरातल तैयार हुन्थ्यो कि ?

लौन नेताहरू हो, आउने पा“च वर्षलाई नैतिक र विधियुक्त शासन दिन्छौं भनिदेओ न । जग बस्यो भने त्यसपछिका वर्षमा लोकतान्त्रिक घर बलियो हुनेथियो, कुनै भूकम्पले पनि लोकतन्त्र भत्काउन सक्ने थिएन ।

(लेखक सिग्देल वरिष्ठ अधिवक्ता हुन् ।)

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४     6:20:38 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *