सेवा बाँड्दै, सचेतना फैलाउँदै ग्रामीण यूवा

ग्रामीण यूवा सूचना केन्द्रमा छलफल गर्दै सूचना केन्द्रका पदाधिकारिहरु ।

कालीकोट मंसिर २५ । फुर्सदको समयमा दिनभरी अनावश्यक काममा खर्चिने नरहरीनाथ गाउँपालिकाका यूवाहरु संगठित भएर यूवाको क्षमता र नेतृत्व बिकासको बहसमा समय बिताउन थालेका छन् । उनीहरुले यो बहस मात्र थालेका छैनन् विकट गाउँमा विद्युतीय कारोबारका सेवाहरु समेत सुरु गरेका छन् । ग्रामीण बिकास सूचना केन्द्रका माध्यमबाट यहाँका यूवाहरुले सेवा बाड्न र सचेतना फैलाउने गरेका छन् ।
यहाँका यूवाहरुले गाउँमा यूवा सूचना केन्द्र स्थापना गरी सामाजिक परिवर्तनका लागि बहस गर्ने र यूवाको नेतृत्व बिकासका लागि सम्भावना खाजी गर्ने गरेको ग्रामीण यूवा सूचना केन्द्रका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए । गाउँमा यूवा सूचना केन्द्र स्थापना गरिउ पछि समाजको परिवर्तका लागि आफुहरुले यूवाहरुमाझ बहस गर्न थालेको उनको भनाई छ । ‘यहाँका यूवाहरु प्रायः फुर्सदिला छन् । घरको कामधन्दा सकेर क्यारेम बोर्ड र जुवा तास जस्ता कुलतमा लाग्ने सम्भावना गाउँका यूवाहरुमा बढी छ’ उनले भने, ‘सूचना केन्द्रको स्थापना पछि यूवाहरु यहाँ सम्मा हुने र समाज परिवर्तनका विभिन्न बिषयमा छलफल गर्ने माध्यम बनेको छ ।’
रोजगारीको खोजीमा भौतारिने गाउँका यूवाहरु रोजगारका अवसरहरुबारे पनि बेखवर हुँदा समस्या झेल्नु परेको कुरालाई मध्यनजर गर्दै विभिन्न माध्यमबाट गाउँमा सूचना प्रवाह गर्ने गरेको यूवाहरुको भनाई छ । सूचना केन्द्रले फोटोकपी, लेमिनेशन, कभर डिजाईन, फ्याक्स, इमेल, व्याडिङ्ग, पम्पलेट, फोटो, रंगिङ तथा सादा प्रिन्टलगायतका सेवाहरु पनि गाउँमा पाए पछि स्थानीयबासी पनि खुशी भएका छन् । सूचना केन्द्र स्थापना भए पछि एक पाना फोटोकपी गर्न र फोटो धुलाउनका लागि पनि घण्टौ हिँडेर छिमेकी गाउँमा जानु पर्ने बाध्यता टरेको नरहरीनाथ वर्डा नं. ३ का देवीराज उपाध्यायले बताए । ‘एउटा फोटो चाहियो भने कोटवाडा वा कालाशिल्ला जानु पथ्र्यो’ उनले भने, ‘सूचना केन्द्रले यि सबै सेवा दिन थालेपछि सजिलो भएको छ ।’
नरहरीनाथ कालीकोट जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनिएको छ । मुलुकको पुर्नसंरचनासंगै भौतिक बिकास हुन नसक्दा यहाँका बासिन्दाहरुले अत्यावश्यक सुविधाहरु पनि उपयोग गर्न पाउन नसकेको बेला ग्रामीण सूचना केन्द्र माध्यम बनेको नरहरीनाथ वडा नं. २ का वडाध्यक्ष प्रेम दर्जीले बताए । ¬‘यहाँको टेलिफोन सेवा घाम लागेका बेला मात्र प्रयोग गर्न पाइन्छ । बिहान बेलुका र पानी परेको दिन यहाँका बासिन्दाहरु यि सुविधाबाट पनि बञ्चित भई रहेका छन्’ उनले भने, ‘यस्तो समयमा यूवाहरुको सक्रियतामा गरिएको पहल सह्रानीय छ ।’ युवाहरुको सक्रियातामा सुरु भएको युवा सुचना केन्द्रको विकासका लागि वडा पालिकाले ५० हजार रकम विनियोजन गरेको वडा अध्यक्ष दर्जीले जानकारी दिए ।
ग्रामीण यूवा सूचना केन्द्रमा अहिले २५ जना सदस्य छन् । पुरै गाउँ पालिकाका यूवाहरु समेटेर सूचना केन्द्रलाई बिस्तार गर्ने योजना रहेको सूचना केन्द्रका अध्यक्ष भट्टराईले बताए । स्थानीय तहसंगको साझेदारीमा विभिन्न दातृ निकायसंग पहल गरी गाउँमा इन्टरनेट सेवा र कम्प्युटर कक्षा सञ्चालनका लागि पहल थालिएको उनले जानकारी दिए । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटले कम्प्युटर, प्रिन्ट, फर्निचर र सोलार सिस्टम उपलब्ध गराए पनि इन्टरनेटको अभावमा सूचना केन्द्रको उद्देश्य अनुरुपकै सेवाहरु प्रदान गर्न नसकिएको उनको भनाई छ ।
यूवा सूचना केन्द्रले सेवा मात्र प्रदान गरेको छैन । यसले विभिन्न कुरिती विरुद्ध सामाजिक अभियान पनि थालेको दावी यहाँँका यूवाहरुले गरेका छन् । ‘सरकारका हरेक कार्यमा हामी सहयोगी बनेका छौ’ यूवा सूचना केन्द्रका सचिव परेक न्यौपानेले भने, ‘विभिन्न कार्यक्रमहरु मार्फत सचेतना फैलाउने काम भएको छ ।’ यूवाहरुको नेतृत्व बिकास र सामाजिक सेवा संगै गरिएको उनले बताए ।
यूवाहरुलाई सूचनाको पहुँचमा पु¥याउन स्थानीय साँझेदार संस्थाको माध्यमबाट कालीकोटको तीलागुफा नगरपालिका र नरहरनिाथ गाउँपालिकामा ग्रामीण सूचना केन्द्र स्थापना गरिएको सेभ द चिल्डे«नका इन्द्र बि.कले बताए । सूचना केन्द्र स्थापना गरिए पछि त्यसको उद्देश्य अनुरुप काम हुन अझै बाँकी रहेको उनको भनाई छ । नरहरीनाथमा स्थापना भएको सूचना केन्द्रले विद्यालयमा विद्यार्थी नियमितताका लागि अभिभावकलाई सचेतनामुलक कार्यक्रम, विकट बस्तिमा रहेका युवाहरुलाई बैदेशिक रोजगारका बारेमा जानकारी, उद्यमशिलता विकासलगायतका कामहरुमा सुसुचित गरेको भिडिसेफ नेपाल कालिकोटका विकास सुपरिवेक्षक शंकर प्रसाद उपाध्यायले बताए । ‘युवाहरुको ज्ञान, सीप र क्षमता बिकासका लागी युवा सुचना केन्द्र स्थापना गरिएको हो’ उनले भने, ‘सुचनाको अभावमा यूवाहरुले स्वदेश र बिदेमा ठगिनु र लुटिनु नपरोस् भन्ने उद्देश्य हो ।’

प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४     4:41:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *