पल पलको सम्झना

कसैको सम्झनालाई मनमा अल्झाउछ ।।
पलपलको सम्झना हो याद बल्झाउछ ।।
कसो गरी खुसी हौली अरुसंग मेरी प्रिया
कुनै दिन मेरो यादले तिम्लाई रुवाउछ ।।

न याद दिलाउछ न तस्विर दिलाउछ
दिलाउछ त भएभरको पिर दिलाउछ ।।
सुखको संसार खोज्द जोवन ढल्कीयो
आज यहि जिन्दगीले जन्जीर दिलाउछ ।।

आफ्नो जिन्दगी आफ्नो रहेन, समय मेरो वशमा छैन । जिन्दगीमा मेरो सहारा लुटिँदै गएको छ । कहिले आफ्नाले लुट्छन् त कहिले पराईले लुट्छन् । जब आफैबाट छुटिन्छ आफ्नै सहारा अनि जिन्दगी जिन्दगीजस्तो नि लाग्दोरहेनछ । मलाई थाहा छ जीबन सुख दुःख अनि आँशु हाँसोको संगम हो जहाँ हामी कहिले फुलहरुसँग रमाउँछौँ त कहिले काँडहरुको बिचमा मुस्कुराएको गुलाबजसरी हामी पनि पिडा लुकाएर हाँस्ने प्रयास गरेका हुन्छौँ । मेरो जिन्दगी सुमधुर भईदिए मेरो साथमा मेरो जीबनको सहयात्री भईदिए म पनि हाँस्ने थिएँ होला र बाँच्ने थिएँ होला ।

(उ जितेर गई या हारेर गई र्)

छोडेर गईसकेपछि पनि उसका यादहरुले यो मनको अदालत ढकढक्याईरहन्छन् अनि दाबी गर्न थाल्छन् कि म तिम्रैै दिलहरुभित्र बस्छु । जब अतित दिलभित्र बस्छ अनि यादहरु आँशु बनेर आँखाबाट खस्न थाल्छन् । रुवाई बनेर निस्किन थाल्छन् । म भक्कानिएर रुन्छु कहिले त लाग्छ डाकै छोडेर रोउँ कि जस्तो । सम्बन्ध भनेको सायद विश्वास र मायामा अडेको हुनुपर्छ भनेर मैले बुझेकी थिएँ तर कोही मानिस यस्ता हुँदा रहेछन् झुटको जाल बुनेर सम्बन्धलाई अघि बढाउन खोज्ने ।
म हाँस्न पनि सक्दिन बाँच्न पनि सक्दिन, सक्छु त तिम्रा यादहरुलाई दिलभित्र बसालेर आँखाबाट आँशु बरबरी झार्न सक्छु । अनि सक्छु तिमीसँग फेरी भेट हुने आशमा बाँच्न । म के गरुँ मेरो प्रियतम म कसरी यी मेरा मनका भावनालाई व्यक्त गरुँ र म कसरी तिमीलाई विश्वास दिलाउँ कि तिमीले सोचेजस्तो म गलत थिईन ।

(न दोष तिम्रो न दोस मेरो दोषि त हाम्रो नजर थियो)

जब अतितले मलाई घच्घच्याउँछ जब याद र अतित मिलेर मलाई रुन बाध्य बनाउँछन् किनकी अतित दिलमा बसेपछि आँशुले पनि यो बस्यो भने म खस्छु भनिदिन्छ । तिमीलाई थाहा छैन मेरो प्रिय भनेका मेरा आँशु हुन् जो सधैँ खसीरहन्छन् पानी बनेर तर धेरै कहानी बोकेर ।
तिमीलाई याद छ होला तिमी आफैले मलाई भनेका थियौ कि संसारलाई शान्त बनाउनु छ भने विश्वास र माया हुनुपर्छ सम्बन्धमा तर खै त तिम्रो माया र विश्वास कहाँ गयो । म भन्दिन तिमीलाई कि मलाई माया गर अनि मसँगै जिन्दगी बिताउ तर यत्ति भन्छु अहिले छोड्नु थियो भने रोएर साथ किन माग्यौ ।
किन बारम्बार मेरो कठोर मनलाई तिमीले मेरो अगाडि रोएर पगाल्ने प्रयास ग¥यौ किन मसँग तिमीले जिन्दगीभरीको साथ माग्यौ अहिले छोडेर जाने भए । कति माया गर्छौ भनि सोध्दा हनुमान भईदिएको भए छाती चिरेर देखाईदिन्थे मान्छे आज त तिमी मदेखि नै भाग्यौ । भो पर्दैन तिमीले मलाई छाती चिरेर विश्वास दिलाउन, अनि पर्दैन तिमीले मलाई दुनियाँभरीका आश देखाएर मसँग झुटो रिश्ता निभाउन । हुनत तिमी छाती चिरेर मप्रतिको माया देखाउनुभन्दा नै अगाडि टाढा भईसकेका छौ । तिमीसँग मेरो गुनासो केही छैन तर मात्र एउटा कुरा सोध्नुछ तिमीलाई कि मैले के कुरामा गल्ती गरेकी थिएँ र तिमी टाढा भयौ ।
तिमीसँग हुँदा र तिमीलाई माया गर्न मैले के कुरामा कमी गरेकी थिएँर तिमी टाढिएर गयौ अनायासै । कसरी तिमीले मलाई लत्याउन सक्यौ । मात्र एकपटक भन्देउन मेरो प्रियतम कि तिमी किन एक्कासी मलाई लत्याएर गयौ बिनाकारण । किन तिमीले मलाई यति ठुलो सजायँ दिईरहेका छौ तिमीबिना बाँच्नुपर्ने । यसरी मलाई त्यागेर जानु नै थियो भने मलाई मसँग किन रोएर साथ माग्यौ किन जिन्दगीभरी साथ दिन्छु भनेर मलाई झुटो आश दिलाएर गयौ ??

(झुटो रैछ यो संसार झुटो रैछ तिम्रो माया)

थाहा छ, आज तिम्रो कारण मैले मेरो जिन्दगी रोएर बाँच्नुपरेको छ । हेर्दा खुसी देखिन्छु तर मरेर बाँचेकी छु । आज तिम्रै कारण म समाजबाट अपहेलित भएकी छु । तिमीले रोएर मागेको साथले मेरो जिन्दगी बर्बाद गरिदियो र आज तिम्रै कारण यति लामो कथा लेख्न बाध्य भएकी छु । तिमीले मलाई दिएका पिडाकै कारणले गर्दा यो अतितको डायरीको पानाहरु अक्षरुपी पिडाले भरिएका छन् । मलाई थाहा छैन तिमीले अहिले यो कथा सुन्दै छौ या छैनौँ तरपनि मैले तिमीबिना म कसरी बाँचेकी छु भन्ने जानकारी तिमीलाई गराउनको लागि नै यो कथा लेख्दैछु । हुन सक्छ कतै तनाब तिमीलाइर्, अनि देख्न सक्दैनौ होला मेरो पिडा अथवा वनावटी हुन् भनेर वेवास्ता पनि गर्न सक्छौ तर तिमी यो कथा पढ या नपढ मलाई केही छैन तर तिमीले सुन्नेछौ यो पनि थाहा छ मलाई । तिमीलाई कसैले सुनाउनेछ यो कथा तिमीसम्म पक्कैपनि कसैले पु¥याउनेछ । तिमीले रोएर मागेको खुसीले आज मलाई जिन्दगीभरी आँशु र पिडा मात्रै दिएको छ । तिम्रो एकपलको खुसीको लागि मैले मेरो हरपल गुमाएकी छु हरपल,,,मेरो पलभरको जिन्दगी‘‘.
म लेख्छु मेरो प्रियतम तिमीसँग मैले सुरु गरेको सम्बन्धको कथा र तिमीसँग मैले व्यतित गरेका प्रत्येक तिता मिठा पलहरु । तिमीलाई मैले बाटोमा भेटेको बटुवा भन्न रुचाउँछु किनकी तिमीले त मलाई आधाबाटोमै छोडेर गएका थियौ नि त्यसैले । तिमीसँग मेरो कुनै साईनो थिएन तिमी मेरा लागि अजनवी थियौ । जिन्दगीको यात्रामा भेटिएका बटुवा तिमी बिनाकारण टाढिएको कथा छ मसँग । तिमीले झुटो नै सही मलाई माया गरेको कथा छ मसँग । तिमीले आफ्नो पलभरको चाहाना मेटाउनको लागि मेरो हरपल लुटेको कथा छ मसँग ।

(माया गर्ने मुटुले हो निधारले होइन)

प्रकाशित मितिः सोमवार, पुस २, २०७५     11:20:00 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *