श्रष्टाको आँगनमै श्रष्टालाई सम्मान

लम्की (कैलाली): कैलालीको लम्की चुहा नगरपालिका–६ को वावनपुरमा श्रष्टा आँगन कार्यक्रम सम्पन्न भएको छ । भाषा, साहित्य र संस्कृतिको बिकासमार्फत श्रष्टाहरुलाई सम्मान गर्ने र नव सर्जकहरुको प्रतिभाको खोजी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । शनिबार बलबहादुर रावत ‘सानु’ को आँगनमा गरिएको कार्यक्रममा श्रष्टा र साहित्यिक वातावरण बनाउने आफन्तलाई सम्मान गर्ने गरिएको छ ।
शनिबारको कार्यक्रममा बलबहादुर रावत र उनकी आमा आमा भरुदेवी रावतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । अक्षर साहित्यिक प्रतिष्ठान लम्कीले हरेक महिना आयोजना गर्दै आएको मासिक श्रृखला अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रतिष्ठानका अध्यक्ष धनराज अविरल विकको अध्यक्षतामा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नेत्र सुनाखरी मगर प्रमुख अतिथि थिए ।
बाग्लुङका श्रष्टा विनोद बिवश बिशिष्ठ अतिथि रहेको उक्त कार्यक्रममा लम्कीचुहा नगरपालिकाका कार्यपालिका सदस्य भीमा चौधरी, सरिता भुल, वडा सदस्य जमानसिंह देउवा, प्रबल रोकाया, साहित्यकार बालकृष्ण खनाल र कर्णबहादुर थापालगायतको सहभागिता थियो । प्रतिष्ठानका महासचिव मदन शाही ‘प्यासी’ले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु बुद्धिप्रसाद खनाल ‘वि.पी.’, रोशन बाहोरा, बलबहादुर रावत, हर्क देवकोटा ‘आर्त अकुलिन’, रुपा ऐडि, कर्णबहादुर थापालगायतकाले रचना बाचन गरेका थिए ।

प्रकाशित मितिः आइतवार, पुस ८, २०७५     9:32:19 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *