एम्बुलेन्स नहुँदा विरामी मर्कामा

कालिकोट:     जिल्ला अस्पताल कालिकोटमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु मर्कामा परेका छन् । नेपाल भारतको आर्थिक सहयोगमा जिल्ला अस्पताललाई उपलब्ध गराइएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोईन्ट नजीकै दुर्घटना भई जिल्ला अस्पताल कालिकोट एम्बुलेन्स बिहीन हुँदा विरामीहरु मर्कामा परेका हुन् ।
जिल्ला सदरमुकाम मान्मा लगायत कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्डसंग जोडिएका स्थानिय तहहरुमा एम्वुलेन्स सेवा सुचारु नहुँदा बिरामीलाई स्वास्थ्य सस्ंथासम्म लिन अन्य असुरक्षित सवारी साधन तथा स्टेचर, डोकोको प्रयोग गर्नु पर्ने बाध्यता रहेको स्थानीयवासीहरु बताउने गरेका छन् ।
जिल्ला अस्पताल कालिकोटका इमरजेन्सी ईन्चार्ज दीपबहादुर रावलले दैनिक जसो बिरामी लिनका लागि एम्बुलेन्सको माग हुने गरेपनि जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा नहुँदा समस्या भईरहेको बताए । उनले भने, ‘गत मंसिर २६ गते जिल्ला अस्पतालको एम्बुलेन्स दुर्घटना भयो । एक जना यात्रुको मृत्य पनि भयो । अहिले जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा छैन् ।’ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालिकोटको एम्बुलेन्स पनि केही महिना देखि बिग्रिएर थन्किएको छ । भारतीय राजदुतावासबाट सहयोग स्वरुप उपलब्ध गराइएको बा ६ च ३४६८ नम्बरको एम्बुलेन्स मर्मत सम्भार नहुँदा थन्कीएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटका सभापती बलप्रसाद संज्यालले श्रोतको अभावमा तीन महिनादेखी एम्बुलेन्स बनाउन नसकिएको बताए । यस्तै जिल्ला अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्ला प्रहरी कार्यालयको गाडीले बिरामीहरु बोक्न थालेको छ । कर्णाली राजमार्गमा समय समयमा गाडी नपाउने भएकाले गम्भीर प्रकृतिका बिरामीहरुलाई छिटो छरीतो अस्पताल पुगाउन जिल्ला प्रहरी कार्यालयले आफ्नो गाडी प्रयोगमा सहयोग गर्ने गरेको छ । प्रहरी नायव उपरीक्षक बिनोद शर्माले फागुन महिनामा मात्र ६ जना बिरामीहरुलाई जिल्ला प्रहरी कार्यालयको गाडीले अस्पतालसम्म पु¥याएको जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिरामीहरुलाई जिल्ला अस्पताल ल्याउन प्रहरीले आफ्नो गाडी पठाएर सहयोग गर्दै आएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २१, २०७५     4:27:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *