कर्णालीको राजधानीमा दैनिक ६९ लाख लिटर पानी अपुग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक ६९ लाख लिटर पानी अपुग भएको छ । वीरेन्द्रनगरमा दैनिक १ करोड ५५ लाख लिटर खानेपानी आवश्यक भए पनि ८६ लाख लिटर मात्र खानेपानी आपुर्ती हुन थालेपछि राजधानीमा खानेपानी समस्या देखिएको हो । सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । ‘वीरेन्द्रनगर उपत्यकामा बर्षायाममा दैनिक २० लाख लिटर र सुख्खा खडेरीको समयमा दैनिक ६९ लाख लिटर खानेपानी अभाव भइरहेको छ’ गौतमले भने ।
मुलुक संघीय संरचनामा गए पछि वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसंगै भएको बढ्दो शहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारी केन्द्रको रुपमा भएको बिकासले वीरेन्द्रनगरमा खानेपानी समस्या बढ्दै गएको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए । ‘१७ बर्ष अघि खानेपानी आयोजना सुरु गर्दा गरिएको प्राविधिक डिजाईनका आधारमा वीरेन्द्रनगरको जनसंख्या दोब्बर बढी भएकोले खानेपानी अभाव भएको हो’ उनले भने ।
२०५९ सालमा पहिलो पटक वीरेन्द्रनगरमा खानेपानी आयोजना सञ्चालन गर्दा यहाँको जनसंख्या ५२ हजार ६ सय २७ जनामात्र थियो । उक्त आयोजना डिजाईनको समयमा १५ बर्षमा अर्थात् २०७७ सालसम्म यहाँको जनसंख्या १ लाख ४ हजार २ सय २९ पुग्ने अनुमान गरिएको थियो । तर आयोजनाले गरेको अनुमान भन्दा अघि नै वीरेन्द्रनगरको जनसंख्या १ लाख ८१ हजार ५ सय पुगे पछि खानेपानीको समस्या भएको हो । ‘१५ बर्षको प्राविधिक अनुमानका आधारमा गरिएको आयोजना डिजाईन् बर्षभन्दा अघि नै जनसंख्या अप्रत्याशित बढेकोले पनि खानेपानी आपुर्तीमा समस्या भएको हो’ देवकोटाले भने । वीरेन्द्रनगरमा मात्र हाल झण्डै १७ हजार घरधुरीमा खानेपानी धारा जडान गरिएको छ ।
स्रोत थप्दै उपत्यका खानेपानी
सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा खानेपानी अभाव हुन संस्थाले पानीको स्रोत थप गर्ने गरी योजना बनाएको छ । स्थानीय साना र मझौला मुहानहरु खानेपानीको पानीलाई खानेपानीमा मिसाउने भएको हो । संस्थाले पातालगंगाको मुल, भष्ना बाँध, बुलबुले तालको पानीलाई समेत खानेपानीको मुख्य लाइनमा मिसाउने गरी योजना बनाएको कार्यालय प्रमूख गौतमले बताए । आगामी आर्थिक बर्षमै वीरेन्द्रनगर १५ को दुन्दुरेखोलाको पानी आयोजनामा थप गरिने छ ।
भेरीको पानी ल्याउन ढिलाई
वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न फास्ट ट्रयाकबाट भेरी नदीको पानी मुल लाइनमा जोड्ने योजनामा भएको ढिलाईले उपत्यकाको खानेपानी समस्या समाधानमा ढिलाई भएको छ । आयोजनामा डिपीआर सम्पन्न भए पनि बाँकी काम सुरु हुन नसके पनि आयोजना निर्माणमा ढिलाई भएको हो । झुप्रा खोला र भेरी नदी नजिकैको ठाउँबाट वीरेन्द्रनगर–११ स्थित अमृत डाँडामा पानी पम्पिङ्ग गर्ने गरी आयोजनाको डिपीआर तयार गरिसकिएको छ ।
भेरी नदीको पानी पम्पिङ्ग गर्न प्राविधीक रुपमा कुनै कठिनाई नहुने भएकोले तीन वर्षभित्र आयोजना सम्पन्न गर्न सकिने मस्यौदा प्रतिवेदनमा उल्लेख छ । पम्पिङ्ग गरिएको पानी अमृतडाँडास्थित निर्माण हुने ४० लाख लिटरका चार वटा इन्टेक निर्माण गर्ने गरी योजना बनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५     8:43:16 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *