अधिकृत ल्याउन जनप्रतिनिधि राजधानी

कालीकोटः जिल्लाको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट प्रमुख प्रशासकीय अधिकृत ल्याउन प्रदेश राजधानी सुर्खेत हुर्दै काठमाण्ठौं गएका छन् । गाउँपालिकामा कर्मचारी नहुँदा सिहदरवारमा कर्मचारीका लागि आफु पुग्नुपरेको विष्टले बताए ।
नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृ सहित ८ जना कर्मचारीको एकै साथ समायोजन भएपछि अहिले गाउँपालिका कर्मचारी विहिन बनेको हो । समायोजन भन्दै गाउँपालिकाका कर्मचारी सरुवा भएपछि गाउँपालिकामा दैनिक कामकाज ठप्प भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवलाल कुवंरको चैत दोस्रो सातामा समायोजन भएर गएपछि अहिलेसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नआएपछि आफु प्रशासकीय अधिकृत ल्याउन प्रदेश राजधानी सुर्खेत हुर्दै संघिय राजधानी सम्म पुगेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले कर्णालीपाटीलाई बताए ।
लेखापाल तेजेन्द्र गौतम, नायव सुब्वा धमेन्द्र शाह, स्थास्थ्य प्रमुख लंकबहादुर बटाला लगायतका ८ जना कर्मचारीले एकै साथ रमाना लिएर गएपछि नहरीनाथ गाउँपालिका रित्तै भएको हो । कर्मचारी नआउँदा काममा समस्या भएको गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टले बताए । ‘अहिले गाँउपालिकामा सहयोगीलाई कार्यालय कुर्न राखेका र्छौ, राजधानीमा कर्मचारि लिन आएको छु ।’ उनले भने, कर्मचारी नहुँदा विद्युत, सडक निमार्ण, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यकर्मीको तलव निकाशा नभएपछि आफु सिहदरवारसम्म पुग्नुपरेको अध्यक्ष विष्टले जानकारी दिए ।
कालीकोट जिल्लाका ९ वटै स्थानीय तहमा रहेका कर्मचारी समायोजनमा परि सरुवा भएर गएपछि स्थानीय सरकारमा कर्मचारी अभाव भएको हो । सरकारले तिनै तहमा कर्मचारी समायोजन गरेसँगै यहाँका स्थानीय तह अस्तव्यस्त रहेका छन् । स्थानीय तहमा खटिएका कर्मचारी समायोजनमा आउने कर्मचारी नआएकाले अहिले स्थानीय तहमा कर्मचारी समस्या देखिएको छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहमा भएको कर्मचारी समायोजनका कारण अहिले स्थानीय तहका कामकाजसमेत ठप्प भएका छन् ।
कर्मचारी समायोजनका कारण स्थानीय तहमा प्रदान गरिने सेवा प्रभावित भएको सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताए । उनले सान्नित्रिवेणी गाउँपालिकाका कर्मचारी पनि समायोजमा परेर रमाना लिएर गइसकेको जानकारी दिए । उनले कर्मचारी समायोजन विधेयकमा २१ दिनभित्र समायोजन गरिएको स्थानमा कर्मचारी पुग्नुपर्ने भएपनि आवश्यकता भन्दा न्यून संख्यामा मात्रै कर्मचारी रहेको बताए । ‘प्रदेश र संघमा कर्मचारी समायोजन हुँदा हामीलाई धेरै समस्या परेको छ, उनले भने ‘स्थानीय तहबाट प्रदान गरिने कामकाज रोकिने अवस्थामा पुगेका छन् ।’
यस्तै जिल्लाको पलाता गाउँपालिकामा पनि कर्मचारी अभाव भएको छ । पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा पनि सरुवा भएर गएपछि पलाता गाउँपालिका पनि कर्मचारी विहिन भएको छ । पचालझरना गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत स्थानीय नै भएकाले काम गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताए । जिल्लाको महावै गाउँपालिकामा पनि कर्मचारी समायोजन भएर गएपछि महावै गाउँपालिका पनि रित्तै भएको छ । स्थानीय तहमा कर्मचारी नहुँदा अहिले उपभोक्ता चेक भुक्तान, रिपोर्टिङ, फाइलिङजस्ता काममा निकै भीड लाग्ने र कामकाज ठप्प भएको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए । गाँउपालिकामा समायोजन गरिएका कर्मचारी समयमै नआउँदा गाँउपालिकाका सम्पूर्ण फाँटका काममा ढिलासुस्ती भइरहेको छ ।
स्थानीय तहका वडा सचिवको समेत समायोजन भएपछि कार्यालय सहयोगीका भरमा वडा कार्यालय संचालन भइरहेका छन् । एउटै सचिवले ९ वटै वडाको काम गर्नु पर्ने अवस्था रहेको बेला फेरि कर्मचारि समायोजनले गाँउपालिका कर्मचारी विहिन बन्न पुगेका छन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५     3:50:54 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *