पाठ्यपुस्तक गोदाममै थन्किए

 

कालीकोटः जिल्लाका लागि आएका पाठ्यपुस्तक सदरमुकामका गोदाममै थन्किएका छन् । जिल्लामा रहेका विद्यालयहरुले आफ्नो विद्यालयका लागि समयमै किताव नलिदा गोदाममै थन्किएका हुन् ।
जिल्लामा सबै भन्दा बढी पाठ्यपुस्तक बिक्रि बितरण गर्ने बिक्रेताहरुले चैतमा जिल्लामा पाठ्यपुस्तक ढुवानी गरे पनि बिद्यालयहरुले नलिएपछि गोदाममै थन्क्याउनु परेको विक्रेताहरुले गुनासो गरेका छन् । जिल्ला सदरमुकाम मान्म बजारमा विगत लामो समयदेखी पाठ्यपुस्तक थोक बिक्रि बितरण गर्दै आएको हाम्रो स्टेशनरी पसलको गोदामा मात्र ३५ हजार ५ सय सेट पाठ्यपुस्तकहरु राखिएका छन् । चैत महिनामा नै जिल्लामा किताब ल्याइसकिएको हाम्रो स्टेशनरी पसलका संचालक राजकुमार शाहीले बताए । उनले भने, ‘अहिलेसम्म ४ वटा बिद्यालयले मात्र पाठ्यपुस्तक लिएका छन् ।’ उनका अनुसार गोदाममा कक्षा १ देखी १० सम्मका ३५ हजार ५ सय सेट पाठ्य पुस्तक थन्किएका छन् ।
पुस्तक बिक्रेता शाहीका अनुसार आईतबारसम्म जिल्लाका चार वटा बिद्यालयहरुले मात्र पाठ्यपुस्तक खरिद गरी लिएका छन् । जिल्लाको नरहरीनाथ गाँउपालिकाको दिपेन्द्र आधारभुत बिद्यालय रुप्सा, शान्नित्रिवेणी गाँउपालिकाको अम्बीका आधारभुत बिद्यालय रकु, बिद्याज्योती मावि लुईयाटा र शुभकालिका गाँउपालिका स्थित जनता मावि छाती गरी चार वटा बिद्यालयहरुले जम्मा ६ सय ९५ सेट पुस्तकहरु ढुवानी गरेका छन् । कालिकोट जिल्लामा कुल २ सय ९४ वटा बिद्यालयहरु रहेका छन् । जस मध्य अझै २ सय ९० बिद्यालयहरु पाठ्यपुस्तक लिनका लागि सम्पर्कमै नआएको विक्रेता शाहिले बताए ।
स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि समयमै बजेटठ निकाशा नदिदा समस्या आएको शिक्षकहरुले बताएकाछन् । हालसम्म जिल्लाका २ वटा स्थानिय तहले बिद्यालयको खातामा आधा रकम निकाशा गरेका छन् । जिल्लाको नरहरीनाथ गाँउपालिकाले बिद्यालयबाट पाठ्यपुस्तकका लागि माग भएर आएको रकमको ७० प्रतिशत बजेट र शान्नित्रिवेणी गाँउपालिकाले ६० प्रतिशत बजेट निकाशा दिएका छन् । बाँकी ७ वटा स्थानिय तहले पाठ्यपुस्तकको बजेट बिद्यालयको खातामा निकाशा नदिएका कारण समयमै किताव ढुवानी हुन नसकेको शिक्षकहरुले गुनासो गरेका हुन । जसका कारण बिद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक दिनका लागि नसकिने अवस्था आएको छ ।
यता स्थानिय तहका प्रमूखहरुले कर्मचारी अभावका कारण गाँउपालिका तथा नगरपालिकाका प्रशासनिक सेवाहरु सबै प्रभावीत हुँदा बजेट भुक्तानी समेत रोकिएको बताएका छन् । जिल्लाको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाँउपालिकामा प्रमूख प्रशासकिय अधिकृत नहुँदा पाठ्यपुस्तक तथा अन्य विकास निर्माणका योजनाहरुको बजेट भुक्तानी दिन रोकिएको बताए । उनले गाँउपालिकामा कर्मचारी नहुँदा सेवा प्रबाहमा समस्या भएको बताएका छन् । कर्मचारी समायोजन पछि दरबन्दी अनुसार कर्मचारीको व्यवस्था हुने अपेक्षा गरिएपनि थप समस्या आएको उनको भनाई थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६     4:30:06 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *