कर्णाली ११ काे दाेस्राे जित

सुर्खेत । वीरेन्द्रनगरकाे कालुन्चाैक मैदानमा जारी वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ।

प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो । कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो। लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।

मध्य-पश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। कसिलो बलिंग गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिए।

जितेंर सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिए। मध्य-पश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१ , राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए। यस अघि पहिले ब्याटिंग गर्ने क्रममा कर्णाली-११ को लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ६१ रन योगदान दिए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गरे। यस्तै कृष्ण कार्कीले आक्रामक इनिंग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लोकेस बमले १७ रन बनाए।

७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।

मध्य-पश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामांग र अजय शाहनीले १/१ विकेट लिए।

प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६     3:34:01 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *