जाडो लाग्दैछ, रुघाखोकी बढ्दैछ

मौसम परिवर्तनसँगै सर्वसाधारणलाई लाग्ने रोग पनि फरक फरक हुन्छन् । गर्मी याममा झाडापखाला बढी मात्रामा देखिन्छ भने जाडो याममा रुघाखोकी । अहिलेको मौसम न जाडो छ, न त चर्को गर्मी नै । बच्चादेखि बूढासम्म नै मौसम परिवर्तनको यस संघारमा बिरामी हुने गर्छन् । यस मौसममा सबैभन्दा बढी सताउने रोग नै रुघाखोकी हो ।
काठमाडौँ उपत्यकाबाहिर र खासगरी तराईमा गर्मी घटिनसके पनि उपत्यकाभित्र भने चिसो बढेको छ । चिसो बढेसँगै काठमाडौँ उपत्यका लगायतका महाभारत पर्वतशृंखलाभन्दा माथि सामान्य रुघाखोकीले सताउने क्रम बढेको छ । मौसम परिवर्तन हुनासाथ हरेक घरमा रुघाखोकीका रोगी बढ्ने मात्र होइन, थलिनेहरूसमेत बढिरहेका छन् । स्वास्थ्य केन्द्रहरूमा पनि यस्तै रुघाखोकीबाट प्रभावितहरूको संख्या थपिइरहेको छ । सिद्धि स्मृति बाल अस्पतालकी चिकित्सक प्रमिला राजचलले आफ्नो अस्पताल आइपुग्ने बिरामीहरूमध्ये करिब एकतिहाई बिरामी रुघाखोकीकै रहेको बताउँछिन् । उता भक्तपुर जिल्ला अस्पतालमा समेत रुघाखोकीको समस्या लिएर पुग्नेहरूको लाम कम छैन । यतिबेला बालबालिका र वृद्धहरुलाई यो रोगले च्याप्न थालेको छ । अहिले लगभग सबै बच्चाहरुलाई रुघाखोकी लागेर ल्याउने गरेको डाक्टर प्रमिला बताउँछिन् ।
अंग्रेजीमा ‘कमन कोल्ड’ भनिने रुघाखोकी मौसम परिवर्तन हुँदा, दुई ऋतुको बीचको अवधिमा मानव शरीरको प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ ।
सामान्य रुघाखोकी अर्थात् मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ लागिरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण पाइने एक निजी अस्पतालका चिकित्सक कृष्ण दासले बताए ।
रुघाखोकी लागेका बेला शरीरको तापक्रम नियन्त्रित राख्नुपर्छ । तापक्रम एक्कासि बढ्ने भएकाले रुघाखोकीलाई झन् बल्झाउँछ । यसैले रुघाखोकीले ग्रस्त पारेका बेला एकदमै चिसोबाट गर्मी र गर्मीबाट एकदमै चिसो भएको वातावरणमा जानु हुँदैन । धूलोधूवाँबाट पनि जोगिनुपर्छ । रुघाखोकी लागेका बेला सकेसम्म आराम गर्नुपर्छ ।
मौसम परिवर्तनसँगै खानपान, आहारविहारमा परिवर्तन अर्थात् ऋतु अनुसारको दिनचर्या आवश्यक हुन्छ । मौसम परिवर्तनअनुसार खानपिन गरे यस किसिमको मौसमी रोगबाट बच्न सकिन्छ ।
डाक्टर प्रमिला राजचलले भन्छिन्, ‘यस्तो मौसममा चिसो पानीले नुहाउनु हुँदैन । चिसोलाई पेल्न खोज्नुभन्दा मनतातो पानीले नुहाउने गर्नुपर्छ । नुहाएपछि जीउभरि तेल लगाएर केही समय घाममा बस्नुपर्छ । दिउँसो सुत्नु हुँदैन । यस्तो मौसममा मांसाहारीले माछामासुको उचित र उपयुक्त मात्रामा लिनुपर्छ ।’
रुघाखोकीले मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, एचआइभी, रक्तअल्पताजस्ता रोग लागेका, बालक, बूढापाका, कुपोषित तथा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई बढी सताउँछ ।
रुघाखोकीको उपचार बेलैमा नगर्दा नाक बन्द हुने समस्या हुन सक्छ । रुघाखोकी लागिरहे कफ पिनासको रूपमा जम्न थाल्छ र यसले स्वास्थ्यमा जटिलता बढाउँछ । यस्तो अवस्थामा पिनासको समेत उपचार गराउनुपर्छ ।
रुघाखोकी तीन दिनसम्म घरायसी उपचारबाट निको नभए, सुधार नदेखिए, सास फेर्न असजिलो भए वा नाक बन्द हुने अवस्था आए चिकित्सकको परामर्श लिनुपर्ने डाक्टर प्रमिला बताउँछिन् ।
रुघाखोकी अति सामान्य मानिए पनि यसमा कहिलेकाहीं जटिल देखिएर ज्यानै जोखिममा पर्ने अवस्थासमेत आउन सक्छ । त्यसैले आफूलाई कुनै असामान्य जटिलता अनुभव भए तुरुन्त चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।
रुघाखोकीको घरेलु उपचार
डा. प्रमिलाका अनुसार, रुघाखोकी भएपछि घरेलु उपचार अन्तर्गत तुलसी, बेसार, मरिच, दालचिनी, सुकेको अदुवा, असुरो नून र मधुमेह नभएकाहरूले अलिकति चिनी हालेर सबै वस्तुलाई चिया जस्तै पकाएर खाँदा सन्चो हुन्छ ।
रुघाखोकी नभएकाहरूले पनि यसको संक्रमणबाट जोगिन जाडोयाममा तुलसीको पात, बेसार, दालचिनी, मरिचको काढापानी बनाएर चियाजस्तै पिउनाले यो समस्याले दुःख दिँदैन ।
मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीबाट बच्न सकिन्छ । बिहान–बेलुका अदुवाको रस र मह मिसाएर खाने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ ।
घाँटीमा खसखस भए, नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नून हालेर कुल्ला (गार्गल) गर्दा पनि चाँडै आराम हुन्छ ।

लक्षण र उपचार
मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ लागिरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्छन् ।
रुघाखोकी लागेका बेला शरीरको तापक्रम नियन्त्रित राख्नुपर्छ । एकदमै चिसोबाट गर्मी र गर्मीबाट एकदमै चिसो भएको वातावरणमा जानु हुँदैन । धूलोधूवाँबाट पनि जोगिनुपर्छ । सकेसम्म आराम गर्नुपर्ने डाक्टर कृष्ण दास बताउँँछन् ।
रुघाखोकी भाइरसबाट सर्ने सरुवा रोग हो । सामान्य रुघाखोकीजस्तै यो पनि मौसमी हुन्छ । जाडो सुरु हुने बेला, जाडो सकिने बेला, गर्मी सुरु हुने बेला र गर्मी सकिनेबेला मौसमी रुघाखोकी लाग्ने डाक्टर रत्नसुन्दर लासिवा बताउँछन् ।
मौसमी रुघाखोकी लागेको बेला रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, बच्चालाई लागेको भए झाडा पखाला लाग्ने लगायतका लक्षण देखिने डाक्टर लासिवाले जानकारी दिए ।
रुघा लागेको ३ दिनसम्म ज्वरो घटेन वा १०० डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आइरहे तथा रुघा र खोकी लागिरहेमा मौसमी रुघाखोकी लागेको हुनसक्छ । सामान्य खालको मौसमी रुघाखोकी घरमा आफैँ पनि निको हुनसक्ने उनले बताए । बिरामीको रोग प्रतिरोधात्मक क्षमता कति छ, त्यसमा निको हुने र नहुने भर पर्ने उनले बताए ।

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     10:46:07 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *