सुध्रिदै सेमेस्टर सिस्टम

त्रिभुवन विश्वविद्यालयले यसपालिदेखि सबै क्याम्पसहरुमा सेमेस्टर प्रणाली सुरु गरेको छ । त्रिविले यस वर्षदेखि उपत्यकाका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु गरेको छ । सेमेस्टर प्रणालीमा ६ महिनाको एक शैक्षिक सत्र हुन्छ र प्रत्येक ६ महिनामा भर्ना, अध्यापन र परीक्षा सकेर ७ औं महिनामा अर्को समेस्टर सुरु गरिन्छ । यो प्रणाली त्रिभुवन विश्वविद्यालय (त्रिवि) का लागि नयाँ होइन । २०२८ सालमा नयाँ राष्ट्रिय शिक्षा पद्घतिको योजना निर्माण भएपछि त्रिविमा २०३० सालमा सेमेस्टर प्रणाली लागू गरिएको थियो तर उक्त प्रणाली लागू भएको ६ वर्ष पुग्न नपाउँदै २०३६ सालमा पुनः वार्षिक प्रणालीमा फर्कनु परेको थियो । सेमेस्टर प्रणाली मेडिकल, इन्जिनियरिङ, फरेस्ट्री तथा कृषिजस्ता प्राविधिक विषयमा लागू गरिए पनि धेरै विषयमा लामो समयसम्म वार्षिक प्रणालीमा नै अध्यापन गराइँदै आइएको छ । २०७० सालमा त्रिविले आफ्ना सबै शैक्षिक कार्यक्रमलाई पुनः सेमेस्टर प्रणालीमा ढाल्ने प्रस्ताव गरेपछि यसका पक्ष र विपक्षमा सरोकारवालाबीच निकै बहस भएको थियो । पछिल्लो समय भने त्रिविले सेमेस्टर प्रणाली नै लागू गरेको छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रका प्रमुख चिरञ्जिवी खनालका अनुसार सेमेस्टर प्रणालीमा विद्यार्थीको नियमित रूपमा मूल्याङ्कन हुने हुँदा उनीहरू अनुशासित र सधैं पढाइमा दत्तचित्त हुन्छन् । यस प्रणालीमा वार्षिक प्रणालीमा जस्तो वर्षभरिको पढेको एकैपटक परीक्षा दिनुपर्ने बोझ हुँदैन । त्यसले गर्दा सेमेस्टर प्रणालीको परीक्षामा विद्यार्थीहरुले राम्रो गर्छन् । सेमेस्टर प्रणालीमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ज्यादै सकारात्मक कुरा हो । यस प्रणालीले परीक्षामुखी र घोकन्ते शिक्षा प्रणालीको अन्त्य गर्ने खनालको भनाइ छ । यस प्रणालीले विद्यार्थीलाई बढी क्रियाशील बनाउने मात्र होइन शिक्षकलाई पनि अनुसन्धान गर्न प्रेरित गर्ने उनी बताउँछन् । सेमेस्टर प्रणालीले अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्ने भएकाले यसको पक्षमा अधिकांश शिक्षाकर्मी भएको उनको भनाइ छ ।
यसैगरी लामो समयदेखि त्रिविमा पत्रकारिता विषय पढाउँदै आएका उपप्रध्यापक देवराज अर्यालको अनुभवमा सेमेस्टर प्रणालीले विद्यार्थीलाई अनुशासित बनाएको छ । यस प्रणालीअनुसार परीक्षा पनि वर्षको दुई पटक हुने भएकाले विद्यार्थीलाई विषयवस्तु बुझ्न धेरै समय नलाग्ने र उनीहरूलाई ज्यादै क्रियाशील बनाउने धारणा अर्याल राख्छन् । ‘सेमेस्टर प्रणालीको परीक्षाको नतीजा पनि राम्रो छ,’ उनी भन्छन्, ‘यस प्रणालीले गर्दा अहिले विद्यार्थीको रुचि अध्ययनमा निकै बढेको छ ।’
सेमेस्टर प्रणाली विद्यार्थीकै भलाइका लागि ल्याइएको उनको भनाइ छ । ‘यस प्रणालीमा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन्,’ उनी भन्छन्, ‘तर सेमेस्टर प्रणाली लागू गरेर मात्रै हुँदैन, यसका लागि भौतिक पूर्वाधार पनि चाहिन्छ ।’
मानविकी विषयका डिन डा. शिवलाल भुषालका अनुसार अहिले सेमेस्टर प्रणाली राम्रोसँग चलिरहेको छ । सेमेस्टर प्रणालीका कारण नेपालमा शिक्षाको स्तर ह्वात्तै बढेको भुषालको भनाइ छ । व्यावहारिक शिक्षामा बढी जोड दिइने हुनाले सेमेस्टर प्रणालीको लोकप्रियता बढेको उनी दाबी गर्छन् ।
शिक्षाविद प्रा. डा. विद्यानाथ कोइरालाका अनुसार सेमेस्टर प्रणाली राम्रो हो तर हाम्रो देशमा बिनाकुनै अध्ययन यो प्रणाली लागू गरिएको छ । ‘शिक्षण प्रणाली त विद्यार्थीलाई सजिलो पार्ने खालको हुनुपर्छ,’ कोइरालाको भनाइ छ, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार सेमेस्टर प्रणालीमा पढाउने प्राध्यापक आफैँले पाठ्यक्रम बनाउँछन् र आफैँ विद्यार्थीको मूल्याङ्कन गर्छन् तर हाम्रोमा परीक्षा नियन्त्रण कार्यालय वा डिन कार्यालयले परीक्षा लिन्छ ।’
उनले त्रिवि सेमेस्टर प्रणालीमा आन्तरिक रूपमा प्राध्यापकले ४० प्रतिशत मूल्याङ्कन गर्ने र ६० प्रतिशत मूल्याङ्कन पुरानै शैलीबाट हुने गरेकामा असन्तुष्टि पोखे । एउटा सेमेस्टरमा ८० प्रतिशत हाजिरी नपु¥याए विद्यार्थी परीक्षामा सामेल हुन नपाउने प्रावधान पनि उदेकको रहेको उनी बताउँछन् । ‘सेमेस्टर प्रणालीको पाठ्यक्रम छोटो समयमा सक्नुपर्ने हुन्छ, जसले विद्यार्थीले चाहे जति पढ्न र अनुसन्धानात्मक कार्य गर्न पाउँदैनन्,’ उनी अप्ठेरो बुझाउँदै भन्छन्, ‘उनीहरूको ध्यान पाठ्यपुस्तकभन्दा कक्षाकोठामा शिक्षकले के पढायो भन्नेमा नै बढी केन्द्रित हुन्छ । त्यसकारण उनीहरूको अध्ययनको दायरा र ज्ञान संकुचित हुन्छ र सिकाइ पाठ्यपुस्तकभन्दा शिक्षकले कक्षाकोठामा पढाएको कुरामा भर पर्छ ।’

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     10:49:21 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *