अब मैदाको होइन, फट्यांग्राको रोटी !

अन्नको पिठोको ब्रेड त सबैले खाइएकै हो । तर अब फट्यांग्राको ब्रेड खानुपर्ने समय आएको छ ।

फिनल्याण्डको एक खाद्य कम्पनीले छिटै नै फट्यांग्रा पिँधेर बनाएको पदार्थबाट ब्रेड तयार गरी बजारमा पठाउँदैछ ।

यो फट्यांग्राबाट बनाइएको विश्वको पहिलो ब्रेड हुनेछ । फिनिस बेकरी शपहरुमा यो उपलब्ध हुनेछ ।

फट्यांग्रा पिँधेर बनाइएको धुलो र आटाको पिठोको मिश्रणबाट ब्रेड तयार गरिनेछ । एक प्याकेट ब्रेडका लागि तयार गरिएको पिठोमा झण्डै ७० वटा फट्यांग्राको धुलो प्रयोग गरिनेछ । त्यसको मूल्य ३.९९ युरो पर्नेछ ।

त्यस्तो ब्रेड तयार गर्ने कम्पनीका अनुसार यस्तो फट्यांग्रे ब्रेड सामान्य ब्रेड भन्दा उच्च प्रोटिनयुक्त हुनेछ । साथै यसले मानिसहरुलाई किटपतंगबाट तयार पारिएका बेकरी आइटम खाने बानी पनि बसाल्नेछ ।

यो सँगै फिनल्याण्ड किराहरुमा आधारित खाद्य पदार्थलाई बजारमा पठाउने छैटौँ युरोपेली देश बन्नेछ । यसअघि युरोपका बेलायत, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया र डेनमार्कले किराहरुबाट तयार पारिएका खाद्य पदार्थ बजारमा उतारिसकेका छन् ।

एजेन्सी

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     2:59:25 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *