तिमीले देखाएका सपना पछ्याउँदै

अर्पना अाले मगर

थाहा छैन यो ‘कु’लत हो कि ‘सु’लत तर यो लतले आज मलाई निदाउन दिएन। आँखा चिम्म गरी कतिबेर यसै खाटमा पल्टिरहेँ। निदाउन सकिनँ। गीत सुनेँ। किताब पल्टाएँ तर निद्रा परेन। घरिघरि आँखा त्यही डस्टबिनतिर मात्र गइरहे। फेरि आँखाको नक्सा परिवर्तन गरेँ अनि किताबतिर हेरेँ। बिडम्वना म किताब  पढिरहेकी थिएँ यद्यपि एकै शब्द पनि बुझ्न सकिरहेकी थिइनँ।

मन लागेको भए पो बुझ्नु !

जुरुक्क उठेर एक गिलास पानी पिएँ, चस्मा लगाएँ। अघि भर्खर अघि डस्टबिनमा कच्याककुचुक पारेर फ्याँकेको त्यो कागजको टुक्रा झिकेँ। पलेटी कसेर भुइँमा बसेँ। कलम समाते। फेरि लेख्न थालेँ। भोलि उसको दिन। केही लेखुँ उसको बारेमा। फालेको त्यो कागज पल्टाएर हेरेँ। अघि भर्खर लेखेको एउटा वाक्यमा मेरो आखाँ टक्क अडियो। पुराना दिनका धमिला तस्बिरहरु। हो मेराे पुराना याद उ बिना कसरी पूर्ण हुन्छन् र!

***

‘जरुरी छैन पुराना ती हरेक साथहरु जिन्दगीको नयाँ मोडहरुमा पनि सँगै हुन्छन्’, उसले एकदिन मलाई भनेको थियो। त्यो दिन म कलेजबाट फर्केर उसलाई समातेर बेस्सरी रोएकी थिएँ। नयाँ-नयाँ कलेज। त्यसमाथि पनि सबै जना स्कुलदेखि नै समूह बनाएर पढ्न आएका थिए। म एक्लै थिएँ, साथीबिहीन। अनि आएर उसलाई यो कुरा सुनाएँ। त्यहीबेला उसले सम्झाउँदै भनेको थियो, ‘जीन्दगीमा सबै सधैँ साथै हुदैनन्। पुराना साथहरु छुट्दै जान्छन नयाँ साथहरु भेटिदै जान्छन्। बस समयसँगै परिवर्तन हुन सिक्नुपर्छ।’

हो, आज लाग्दैछ त्यही समयसँग म परिवर्तन भइरहेछु। तर उ…? अझै पनि उस्तै छ। मेरो लागि उसको प्रेम कहिलै परिवर्तन भएन।

स्नातक तहमा भर्ना हुँदा कलेजको पहिलो दिनमा उसले सोधेको थियो, ‘साथी पायौ त? कतिजना साथी बनायौ?’ मैलेँ पहिलो पल्ट जागिर खाँदा कामको पहिलो दिनमा नै उसले सोधेको थियो, ‘कोही साथी बनायौ? कस्ता छन् सँगै काम गर्नेहरु ? खाजा खान जाने साथी नि ?’  आज पनि उ म कतै एक्लो हुन्छु कि भनेर डराउने गर्छ।

लाग्छ उसलाइ यति धेरै माया कहाँबाट आउँछ होला? कुरा सात वर्ष अघिको हो। म एसएलसी परीक्षामा एक अंकले गर्दा दोश्रो श्रेणीमा उतीर्ण भएर दिनभर रूँदै बसेकी थिएँ। साँझ उ खुशी हुँदै मेरो सामु अाइपुग्यो। मेरा सुन्निएका आँखा देखेर उसले निधार चाउरी पारेको मलाइ अझै सम्झना छ। केही बेरको मौनता तोड्दै उसले चक्लेटको एउटा बक्सा राखिदियो। भन्यो, ‘यो त सुरुवात हो तिम्रो, अझैँ धेरै पढ्नु पर्छ। आफूलाई प्रमाणित गर्न तिमीसँग अझैँ समय छ। मलाई थाहा छैन यो अंकको खेल, बस मेरो लागि त तिमीले धेरै पढिदिए पुग्छ।’

संसार त मलाइ अामाले देखाउनुभयाे। तर यो संसार मलाई उसले चिनायो। मलाई हिँड्न सिकायो। दुनियाँका समस्या सामना गर्न सिकायो। ठूलो सपना सजाउन अनि त्यसलाई पूरा गर्न सिकयाे। सबैभन्दा ठूलो कुरा उसले मलाई जीउन सिकायो। उसले मलाई यो संसारलाई माया गर्न सिकायो। अन्जान भिडहरुलाई पनि आफ्नो मानेर अँगाल्न सिकायो।

म केही बोलिनँ। एकहोरो भुइँतिर हेरिरहेँ। अनि त्यो शून्यता चिर्दै उसैले भन्यो, ‘ल हिँड भान्छामा आज मासु र भात पकाएर खानुपर्छ।’ त्यसको केही वर्षपछि मेरो स्नातक तहको रिजल्ट अायो। यो पटक म पहिलो श्रेणीमा पास भएकी थिएँ। बिडम्वना ! यसपटक पनि म खुशी थिइनँ। रिजल्ट हेरेर साँझ घर आउँदा घर खाली थियो। मेरो सफलतामा गर्व गर्ने, चक्लेट दिने उ घरमा थिएन। अनि त्यो दिन पनि म खुब रोएँ। सायद सफलताको महत्व त्यही नै होला जब त्यो उत्सव बनाइन्छ !

***

लेखिरहँदा पानामा एक थोपा उसको याद चुहियो। मसीले लेखेको शब्द धमिलो भयो, मेरो बाल्यकालको याद जस्तै। पुराना ती दिनहरुको तस्विरहरु साँच्चै धमिलो हुँदै गएछन्। यति धुमिल कि मलाइ ठम्याउनै गाह्रो परिरहेछ। मेरो लागि उसले कयाैं पटक आमाको गाली अनि बाबाको पिटाई खायो? मेरो लागि भनेर उसले कतिपल्ट आफ्नो इच्छाहरु त्यागिदियो? यद्यपि मलाई याद छ ती दिनहरु। जब उसँग पैसा हुँदैनथ्यो बेलुकाको खानालाई अनेकथरि गरेर मीठो भुटेको भात भन्दै टिफिनको डब्बामा भरेर मलाई स्कुल पठाउने गर्थ्यो। म स्कुलबाट घर आइपुग्दा तातो खाजा तयारी अवस्थामै हुन्थ्यो। मेरो एउटा कापी सकिन नपाउँदै घरमा अर्को नयाँ कापी आइसकेको हुन्थ्यो। मेरा इच्छाहरु मैलेँ बोल्नु भन्दा अगाडि नै पूरा भइसक्थे।

एकदिन उ विहानै घरबाट निस्कियो। बेलुका फर्कियो। सधैँ झैँ खाना खाएर हामी सुत्ने तर्खर गर्न थाल्यौँ। मैले सधैँजस्तै उसलाई भनेँ,’मोबाइल देउ न एकछिन गेम खेल्छु।’ सधैँ मोबाइल दिने मान्छेले त्यो रात मलाई भन्यो, ‘चुपचाप सुत सधैँ किन मोबाइल चलाउनु पर्‍यो?’

म रिसाउदैँ सुतेँ।

मेरो कलेज बिहानको थियो। तेस्रो घन्टी बज्नै लाग्दा मैलेँ उसलाई झ्यालबाट देखेँ। दौडिएर तल गएँ। अनि पो थाहा पाए, हिजोको बितेको दिन सामान्य दिन थिएन। उसले मेरो कलेजको फि तिर्न आफ्नो मोबाइल बेचेर अाएको थियो। म केही बोलिनँ। उसले दिएको १०० रुपैँया हातमा थापे अनि चुपचाप आफ्नो कक्षातिर लागेँ। साँझ उ अफिसबाट फर्केपछि सोधेँ ‘तिम्रो मोबाइल खोई?’ उ मुस्कुरायो अनि आफ्ना न्याना हातहरुले मेरो दुवै गाला समातेर भन्यो, ‘तिमीले धेरै पढ्नुपर्छ। हामीले त सकेनौँ। तिमी धेरै पढ्नु!’

उसको कुरा सुनेर रिस उठ्यो। मैलेँ झर्किदैँ भने, ‘म पढ्दिनँ। म पल्टनमा भर्ति हुने हो। त्यहाँ पढाइसढाइ चाहिँदैन।’

‘तिमी जहाँसुकै जानु जे सुकै गर पढाईको महत्व उत्तिकै हुन्छ। जति धेरै ज्ञान हुन्छ नि त्यति नै धेरै मान्छेहरुले सम्मान गर्छन्। अनि त्यसपछि के हुन्छ थाहा छ?’

‘के हुन्छ ?’ फेरि झर्किँदै मैलेँ सोधेँ। ‘हाम्रो यो सानो फुच्चि ठूलो ठूलो मान्छेहरुको भिडहरुमा सबैभन्दा अगाडि उभिएकी हुन्छे। अनि भिडले तिम्रो सम्मानमा उठेर ताली पिटिरहेको हुन्छ। हो त्यही दिनको तयारी हो यो।’ म स्तब्ध भएँ। मसँग बोल्नको लागि कुनै शब्दै भएन। म त्यो समयमा रमाइरहेकी थिएँ जहाँ उ मेरो सपनाका याेजनाकार थियो।

***

अचानक चिसो हावाले छोएर गयो। झ्याल खुलै रहेछ। कलम र डायरी बोकेर त्यहीँ गएँ। आज कोजाग्रतपूर्णिमाको दोस्रो दिन। बाहिर जुनले प्रकाश फिँजाइसकेछ। आकाशतिर अाँखा दाैडाउँदै मैले ती वर्षाका दिनहरू सम्झिएँ। रातभर आकाश गड्याङगुडुङ गर्दै ठूलो झरी पर्दा म डराएर टाउको र घुडाँ जोडिने गरी कुप्रो पर्थेँ। त्यति नै बेला पछाडिबाट न्यानो हातहरुले मलाई बेस्सरी अँगालो हाल्थ्यो। ‘फुच्ची कोल्टे परेर सुत’, एउटा अावाजले मलाइ भन्थ्यो। म त्यो न्यानो अँगालोमा सुरक्षित अनुभव गर्दै आनन्दसँग निदाउथेँ।

म हिँड्दै गएँ। उ मेरा लागि बाटो बनाउदै गयो। समय बित्दै जाँदा एक दिन म अाफ्नो सपना पछ्याउँदै पल्टनमा भर्ती हुन फारम भर्न जाने भएँ। यो सर्टिफिकेट राखेउ? त्यो हालेउ? अनि त्यो अर्को? नागरिकता? पैसा? उसले मलाई सायद १० भन्दा पनि धेरै पटक सोध्यो होला। पल्टनमा भर्ति हुन म जाँदै थिएँ सायद त्यसको चिन्ता मलाइभन्दा बढी उसलाइ थियो।फारम भरेर घर फर्किंदा घरमा एक जोर नयाँ ट्रयाकसुट, जुत्ता,पानीको बोटल अनि अरु के के खानेकुरा अायसकेका रहेछन्।

उ घरमा छउन्जेल मैलेँ कहिलै पनि अर्लाम राख्नु पर्ने थिएन। हरेक विहान पाँच बजे उ मलाई उठाइसक्थ्यो। अरुबेला कलेज जान अनि त्यो विहान चाहिँ उसले उठाउदै भन्यो ‘दौडिन जान पर्दैन ? उठ !’ सायद हाम्रो सपनाको जग बलियो हुन पाएनछ। मैलेँ लिखितमा नाम निकाल्न सकिनँ।

त्यो दिन पहिलो पल्ट अनुभव भयो हार कस्तो हुन्छ। उसले सम्झायो, ‘सपनाहरु टुट्छन तर सकिँदैनन्। सपना पछ्याउन छाेड्नुहुन्न। सपना र लक्ष्य फरक विषय हुन्। जिन्दगीमा जस्तोसुकै परिस्थिति आओस् आफू नटुट्नु बाकीँ सब आफैँठिक हुनेछ। यस पटक त्यस्तै भयो तिमी आफ्नो इच्छाहरु मार्न नदिनु। तिम्रो हरेक सपनाको मूल्य हामी चुकाउँला।’ अनि मनमनै वाचा गरेँ त्यो दिन पक्कै आउनेछ जब मलाई देखेर उसको आखाँमाखुशीको आशुँ अनि ओठमा गर्वको मुस्कान हुनेछ। हारेर घर फर्किएकी मैले आफूलाई संसारको सबैभन्दा अग्लो उचाईमा उभिएको पाएँ।

उसले आजसम्म आफ्नो जीवन मेरो लागि खर्चियो। मेरो पढाई, मेरो सपना,मेरो इच्छा, मेरो खुशी, मेरो बाटो अनि मेरो भविष्य। आज सात समुन्द्रपारि दिनरात पसिना चुहाइरहँदा पनि मेरो उज्जवल भविष्यको नक्सा कोरिरहेछ। मेरो सफलताको शिखरका बाटोलाई अझ सहज बनाउन प्रयास गरिरहेछ।

संसार त मलाइ अामाले देखाउनुभयाे। तर यो संसार मलाई उसले चिनायो। मलाई हिँड्न सिकायो। दुनियाँका समस्या सामना गर्न सिकायो। ठूलो सपना सजाउन अनि त्यसलाई पूरा गर्न सिकयाे। सबैभन्दा ठूलो कुरा उसले मलाई जीउन सिकायो। उसले मलाई यो संसारलाई माया गर्न सिकायो। अन्जान भिडहरुलाई पनि आफ्नो मानेर अँगाल्न सिकायो।

***

अहो ! डायरीकाे पाना भिजेछ। चस्मा निकालेर मैले परेलीहरु पुछेँ। भित्तातिर हेरेकाे रातिको एक बजिसकेछ। मेरा हातहरु चिसो भएछन्। झ्याल बन्द गरेँ। झ्यालमा चुकुल लगाएँ। फेरि भुइँमा बसेँ। चस्मा लगाए अनि डायरी बन्द गर्नु अघि दुइ वाक्य थपेँ।

‘तिमीलाई गरेको वाचा पूरा गर्नेछु। ह्याप्पी बर्थडे दिदी !’

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४     6:44:41 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *