एउटा एचआइभी संक्रमितको जीवनका उतारचढाव

खगेन्द्र खड्का एचआइभी संक्रमित हुन् । अझै पनि समाजले एचआइभी पोजेटिभ भएका मानिसलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन, तर उनी यही समाजमा बसेर आफूलाई स्थापित गर्ने प्रयासमा जुटिरहेका छन् । उनी देशभर एचआइभी र लागुऔषध दुव्र्यसनीबारे जनचेतना फैलाउँदै हिँड्छन् । उनै एचआइभी संक्रमित खड्कालाई सरला कट्टेलले जीवनको उतारचढावबारे सोधेकी छिन् :

कक्षा ८ मा पढ्दै गर्दा मेरो बुबाको सडक दुर्घटनामा मृत्यु भयो । आमाले पनि अर्को बिहे गरिन् । त्यसपछि म एक्लो भएँ । एक्लो जीवन साह्रै अत्यासलाग्दो थियो । त्यसैले एक्लोपनको आभास मेटाउनका लागि लागुऔषधको सहारा लिन थालेँ । त्यसपछि मेरो जीवन लागुऔषधमै भुल्न थाल्यो । लागुऔषधसँगै १५ वर्ष व्यतित गरेँ ।

म यति एडिक्ट भइसकेको थिएँ कि मेरा हरेक खल्तीमा लागुऔषध हुन्थे । लागुऔषध त सेवन गर्थें, तर यसको दीर्घकालीन असरबारे मलाई त्यति ठूलो ज्ञान थिएन । जीवनको एउटा हिस्सा बनिसकेको थियो, लागुऔषध मेरा लागि ।

लागुऔषधको हानि कुर्नका लागि मलाई त्यति लामो समय लागेन । ०५५ सालमै म त एचआइभी संक्रमित भइसकेको रहेछु । आफूलाई एचआइभी लागेको छ भन्ने थाहा पउँदासमेत कुनै पश्चाताप थिएन ममा । न त विचलित नै भएँ । मलाई दुनियाँ बाल मतलव थियो । म हरपल नशामै हुन्थेँ । नशा पाए अरू थोक केही चाहिँदैनथ्यो ।
०००
त्यो वेला न्यु एरा नामक संस्थाले एचआइभी सम्भावना हुने व्यक्तिहरूको रगत जाँच गर्ने काम गर्दथ्यो । रगत जाँचको शुल्क हुन्थ्यो, दुई सय रुपैयाँ । मेरो रगत पनि त्यही संस्थाले जाँच ग¥यो । दुई सय रुपैयाँले मेरो रगत होइन कि जीवन नै जाँच गरेको थियो ।

एचआइभी संक्रमित भए पनि म नशाबाट निस्कन सक्दिनथेँ । मलाई विश्वास गर्ने पनि कोही थिएन, आफन्त पनि थिएनन् । ममलाई लाग्थ्यो, ‘मेरो को नै छ र यो संसारमा ? खाएरै मर्छु ।’

तर, जीवन र सोचले कतिवेला कोल्टे फेर्छ भन्ने पत्तो नै हुँदो रहेनछ । पोजेटिभ समूह धरानका अध्यक्ष नरेलाल श्रेष्ठले मलाई लागुऔषधमुक्त बनाउनुभयो । अहिले त उहाँ यो संसारमा हुनुहुन्न । तर, मलाई बचाएर जानुभयो, नयाँ जीवन दिनुभयो ।

जब म एचआइभी संक्रमित भएको कुरा समाजले थाहा पायो, मलाई समाजले नै अलग गर्‍यो । कतिपय टाउको फर्काएर हिँड्ने भने, कतिले मलाई देख्नेबित्तिकै कानेखुसी गर्न थाल्थे । अझै पनि समाजमा स्थापित हुन सकिरहेको छैन ।

समाजले जसरी हेरे पनि मैले चाहिँ आफूलाई परिवर्तन गर्न थालेँ । जीवनको मूल्य थाहा पाएँ । र, मेरो जस्तो जिन्दगी अरूको कल्पना गर्न सकिनँ । यस्ता युवालाई परिवर्तन गर्नुपर्छ भन्ने चेतना आउन थाल्यो ममा । त्यसपछि मैले देशभरका लागुऔषध दुव्र्यसनीको सिकार भएकाहरूमा चेतना फैलाउन थालेँ । आफ्नो अनुभव सुनाउन सुरु गरेँ । र, मानिसलाई परिवर्तन गर्ने अभियानमा लाग्न थालेँ ।

मैले जे गरेँ, त्यसलाई मानिसहरूले सामाजिक अभियानका रूपमा लिए र मलाई सामाजिक अभियन्ता बनाए । म लागुऔषध एडिक्टबाट एचआइभी संक्रमित त बनेको थिएँ, तर मेरो परिचय अर्को पनि बन्यो, सामाजिक अभियन्ता । मैले धरान मात्र नभएर देशभर लागुऔषध र एचआइभीविरुद्ध चेतना फैलाउँदै हिँडेँ । यसले मलाई आत्मसन्तुष्टि दिन्छ र दिएको छ ।

अहिले आफैँलाई पत्याउन गाह्रो पर्छ कि के म त्यही खगेन्द्र खड्का हुँ । मेरो परिचय यसरी बदलिएला र यो स्थानसम्म आउन सकुँला भनेर मैले कहिल्यै पनि कल्पना गरेको थिइनँ । त्यसैले मैले एचआइभी संक्रमितहरूलाई के भन्छु भने तपाईं हतास नहुनुस्, एचआइभीपछि पनि आकर्षक र सानदार जीवन जिउन सकिन्छ । आफूलाई बलियो बनाउनुस् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४     6:50:23 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *