‘सेकेण्ड हृयाण्ड’ बन्ने

काठमाडौं । नयाँ चलचित्र ‘सेकेण्ड हृयाण्ड’ को निर्माण घोषणासँगै आइतबार शुभमुर्हूत गरिएको छ । नारीप्रधान चलचित्र भनिएको यो चलचित्रमा नव–कलाकारको हावी देखिन्छ । नवनायक अनुरूप पोख्रेलको मुख्य भूमिका रहने भनिएको यो चलचित्रको नायिका भने तय गरिएको छैन । आइतबार बिहान राजधानीको बत्तीसपुतलीस्थित राम मन्दिरमा शुभमुर्हूत गरिए पनि उक्त शुभमुर्हूत कार्यक्रममा चलचित्रका नायक नै अनुपस्थित थिए । सहनायक र सहनायिकाबाट चलचित्रको शुभमुर्हूत गरिएको थियो ।

चलचित्रका निर्माता जयसिंह ठाकुरले नरिवल फुटाउँदै शुभमुर्हूत गरेका थिए । साथै निर्माताको रूपमा डेब्यु गरेका ठाकुरले आफूले पहिलो पटक चलचित्रमा लगानी गरेको र लगानीको प्रतिफल राम्रो हुनेमा विश्वस्त रहेको बताए । ‘मैले योभन्दा अघि चलचित्रमा लगानी गरेको छैन र अहिले नेपाली चलचित्रको बजारमा धेरै राम्रो हुँदै गएकाले पनि मलाई यस विषयमा इच्छा जागेको हो । आशा छ चलचित्रलाई दर्शकले मन पराइदिनुहुनेछ’, निर्माता ठाकुरले भने ।

त्यस्तै चलचित्रका निर्देशक अशोक सुनारले युवापुस्ता लक्षित गरी चलचित्र निर्माण गर्ने बताए । ‘विशेषतः नारीको कथालाई चलचित्रमा उठाइएको छ । चलचित्रमा लभ, रोमान्ससहितको मनोरञ्जन हुनेछ’, निर्देशक सुनारले चलचित्रको कथाबारे भने । उनले चलचित्रमा धेरै नयाँ अनुहार भएपनि दर्शकलाई मनपर्ने बन्नेमा विश्वस्त रहे । ‘चलचित्रमा नयाँ अनुहार छन् भन्दैमा नराम्रो, कमजोर भन्ने हुँदैन । चलचित्रको विषय वस्तु, प्रस्तुती कस्तो छ त्यसमा निर्भर रहन्छ’, सुनारले भने ।

निर्देशक सुनारले यसभन्दा अघि ‘भाइटीका’, ‘पर्खाइ’, ‘क्राइम’, ‘डोरी’, ‘बिग बोस’, ‘तिहारको टीका’लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

तिलकराज बुढाथोकीको छायांकन रहने यो चलचित्रमा राजनराज शिवाकोटीले शब्द, संगीत भर्दैछन् भने स्वर तीर्थराज सेडार्इंको रहनेछ । चलचित्रमा सुजिता श्रेष्ठ, अनु खड्का, सुरज श्रेष्ठको द्वन्द्व निर्देशन, सुरेश वाइवा र युद्ध लामाको नृत्य निर्देशन रहने बताइएको छ । चलचित्रमा वीरमान स्याङ्ताङ, मुस्कान लामा, सीता लामा, किशोर खतिवडालगायतको अभिनय रहनेछ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     3:56:40 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *