सचिव निवासमा अध्यक्षको ताला

रुकुम (पश्चिम) मंसिर २० । चौरजहारी नगरपालिका १ का अध्यक्ष भद्रबहादुर विष्टले वडासचिवको निवासमा ताला लगाइदिएका छन् । वडा सचिवले प्रयोग गर्दै आइरहेको कार्यालयकै एउटा कोठाको निवासमा महिना दिनअघिदेखि ताला लागेको छ । वडा सचिव दीपलाल कवर कार्यालयको कामकाजमा असहयोगी बनेपछि निवासमै ताला लगाउनुपरेको अध्यक्ष विष्टले बताए । लामो समयदेखि कार्यालयको कामकाज नगरी अन्तैमात्रै हिँडेकाले बाध्य भएर ताला लगाउनुपरेको भनाइ विष्टको छ ।

‘वडा कार्यालयबाट नगरपालिकामा गएको छु भन्ने, नगरपालिका कार्यालयमा पनि नजाने गरेकाले समस्या भएको थियो,’ उनले भने, ‘मनमर्जी तरिकाले कामकाज गर्नेबाट सेवाग्राहीले सेवा नपाएपछि यस्तो निर्णय लिनुपरेको हो ।’ वडा कार्यालयको मालपोत कर संकलन गर्ने रसिद र नगदी रसिदसमेत सचिवले गायव बनाएको आरोप विष्टले लगाएका छन् ।

उता सचिव कवरले भने वडा अध्यक्षले मनोमानी गर्न नपाएपछि आफ्नो निवासमा ताला लगाएको आरोप लगाएका छन् । विभिन्न शीर्षकबाट संकलित कर तथा मालपोत नगरपालिकामा नबुझाई वडामै खर्च गर्ने योजना कार्यान्वयन गर्न नपाएपछि अध्यक्ष आफूमाथि आइपरेको उनको भनाइ छ । ‘हालसम्म संकलित रकमको हिसाबकिताब पनि केही छैन, मैले नगरपालिकाबाट ल्याएका नगदी रसिद र मालपोत कर संकलन रसिद नगरपालिकामा बुझाएको छु,’ उनले भने, ‘त्यो फिर्ता भएमात्रै निवासमा थुनिएका व्यक्तिगत सामग्री दिन्छु भन्नु भएको छ ।’ नगरपालिकामा बुझाउनै पर्ने रकम नबुझाउने भनिएपछि नगरपालिकाबाट ल्याएका नगदी तथा मालपोत कर संकलनको रसिद नगरपालिकामा बुझाइएको उनले बताए । निवासमा लत्ताकपडादेखि सबै प्रमाणपत्र थुनिएको गुनासो कवरको छ ।

हाल उक्त वडा सचिवविहीन छ । सचिव कार्यालय नआउने भएपछि आफैं कामकाज चलाइरहेको अध्यक्ष विष्टले बताए । ‘उनी कता छन्, थाहा छैन, कर्मचारी नहुँदा हामी आफैंले काम चलाइरहेका छौं,’ विष्टले भनेका छन् । कवरले भने, वडा कार्यालयमा काम गर्ने वातावरण नभएपछि नगरपालिका कार्यालयमा काम गरिरहेको बताए । वडा अध्यक्ष र सचिवबीचको विवाद समाधानको प्रयास सफल पनि हुन सकेको छैन ।

उपप्रमुख राधा रोकायसहित इलाका प्रहरी चौरजहारीले उक्त समस्या समाधानका लागि छलफल गरे पनि कुनै निष्कर्ष निस्केको छैन । अध्यक्षले वडा कार्यालयको नगदी रसिद र मालपोत संकलन रसिद नपाएसम्म कुरा नमिल्ने बताएका छन् भने कवरले उक्त रसिद नगरपालिकामा बुझाइसकेको बताएका छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४     12:45:36 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *