देशभर बाम गठबन्धनको अग्रता

सुर्खेत मंसिर २३ । मुलुकभरमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म देशभर प्रतिनिधिसभातर्फ नेकपा एमालेले ५ स्थानमा जित हाँसिल गरेको छ भने २९ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र एक स्थानमा जित हाँसिल गरेर १७ स्थानमा अग्रता कायम राखेको छ । प्रतिनिधिसभातर्फ काँग्रेसले तीन स्थानमा अग्रता लिएको छ भने राजपाले दुई स्थानमा अग्रता कायम राखेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको काम जारी रहेको जनाएको छ । आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएर कतिपय क्षेत्रको अन्तिम परिणाम आउन सुरु भइसकेको छ ।
मुस्ताङ, मनाङ र रुकुम पूर्वको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । विहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको थियो । निर्वाचनका अधिकांश मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने शुक्रबार मात्र सकिएको आयोगको भनाइ छ ।

रोका पहिलो निर्वाचित महिला सांसद
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बनेकी छिन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक हुन् । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मत अन्तरले पराजित गरेकी हुन् । निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याङ्कअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४ सय ३४ मत ल्याएकी हुन् भने त्यस निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

जुम्ला र मुगुमा बाम गठबन्धनको जित
मुगुमा प्रतिनिधी सभातर्फको मतगणना सकिएको छ । प्रतिनिधी सभातर्फका लागी एउटै निर्वाचन क्षेत्र रहेको मुगुमा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार गोपाल बम बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका हस्त बहादुर मल्ललाई ३ हजार बढी मतले पराजित गरेका हुन् । बिजयी भएका बमले १३ हजार ३४ मत प्राप्त गरेका छन् भने मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । मुगुमा प्रतिनिधी सभाको मतगणना सकिए लगत्तै प्रदेश सभाको मतगणना शुरु भएको छ ।
यता, जुम्ला प्रदेश क्षेत्र नम्वर (ख)मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका भिमनिधी हमाललाई ५ हजार १ सय ७८ मतले पछि पार्दै विजयी भएको मूख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । विजयी रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त गरेर जित हाँसिल गरेका हुन् ।
नेपाली काँग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त गरेका छन् । यस्तै नेमकिपाका गोर्ख वहादुर वुढाले १ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । राप्रपा प्रजातान्त्रिकले २ सय ९ मत प्राप्त गरेको छ । ५ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । प्रदेश क्षेत्र नम्वर (ख)मा १७ हजार ८ सय २५ मत खसेको थियो । यसअघि २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा रोकाया नेपाली काँग्रेसका ललितजंग शाहीबाट पराजित भएका थिए ।
प्रदेश नं. ६ को हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामा ८ हजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरे । यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । प्रदेश ’ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।
कालीकोटमा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म बाम गठबन्धनले अग्रता कायमै राखेको छ । वाम गठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार दुर्गबहादुर रावतले ७ सहजार ३ सय ७४ मतका साथ अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले ६ हजार ३ सय ६२ मतका साथ पछ्याइरहेका छन् ।
प्रदेश सभा (क) क्षेत्रका लागि बाम गठबन्धनका कुर्मराज शाहीले ८ हजार १ सय २५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका टेकराज शाहीले २ हजार ९ सय ९४ मत ल्याएका छन् । प्रदेश सभा (ख)मा पनि बाम गठबन्धनका महेन्द्रबहादुर शाहीले ६ हजार ३ सय ४० मत ल्याएर अग्रता लिएका छन् भने नेपाली काँग्रेसका कालीबहादुर सहकारीले ४ हजार २ सय ४१ मत ल्याएका छन् । प्रदेश सभामा ५० प्रतिशत मत गणना भई सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४     8:30:07 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *