बाम गठबन्धन दुइतिहाइ उन्मुख

सुर्खेत मंसिर २४ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ । यो समाचार तयार पार्दासम्मको प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा ३ जना महिलासहित ९८ जना र प्रदेशसभा सदस्यतर्फ १० जना महिलासहित २ सय ९ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १ सय २८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २ सय ५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुनेतर्फ नेकपा एमालेका उम्मेदवार ५७ स्थानमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार २४ स्थानमा र नेपाली काँग्रेसका उम्मेदवार १३ स्थानमा विजयी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा आफ्ना प्रतिद्वन्द्वी खगराज भट्टभन्दा झण्डै ७ हजार मत अन्तरले जितेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने पराजित भएका छन् । उनले एमालेका कृष्णकुमार श्रेष्ठभन्दा ७ हजार कम मत पाएका छन् ।
झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । ओलीले ५७ हजार १ सय ३९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले ४ स्थानमा जितेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३ स्थानमा जितेको छ । अन्य दलका उम्मेदवारले ३ स्थानमा जितेका छन् ।
समानुपातिकमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार समानुपातिकतर्फ मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको काँग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ ।
कूल एक करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा ३ लाख ३४ हजार ४ मत गन्दा एमालेले सबैभन्दा बढी ३८.९ प्रतिशत मत ल्याएको छ । नेपाली काँग्रेसले ३७.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादीले १६.५ प्रतिशत मत पाएको छ । बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीले २.१ प्रतिशत मत ल्याएको छ । समानुपातिकतर्फ सिट जित्न तीन प्रतिशतको थ्रेसहोल्ड राखिएको छ । अर्थात तीन प्रतिशत मत नकाट्ने दलले समानुपातिक सिट जित्न सक्ने छैन ।

प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४     6:21:33 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *