अत्याधिक रक्तश्रावले सुत्केरीको निधन

कालिकोट मंसिर २७ । जिल्ला अस्पताल कालीकोटमा शल्यक्रिया गरी सुतकेरी गराइएकी चन्द्रा शाहीको निधन भएको छ । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी शाहीको सोमबार राती शल्यक्रिया गरी बच्चा निकालेपछि उनलाई अत्याधिक रक्तश्राप भए पछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी मंगलबार बिहान काठमाडौ लगिएको थियो ।
काठमाडौं अस्पतालमा पु¥याए लगत्तै सुत्केरीको मृत्यु भएको मृतक शाहीका आफन्त धिरेन्द्रबहादुर शाहीले बताए । ‘राती नै हेलिकप्टर ल्याएर उपचार गर्न सकिएन्’ उनले भने, ‘बिहान मौसम खराबीका कारणले हेलिकप्टर ढिला भयो । काठमाडौं पु¥याए लगत्तै मृत्यु भयो ।’ सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो’ उनले भने, ‘रक्तश्राव अत्यधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको हो ।’
सुत्केरी शाहीको मृत्यु भए पनि जन्मिएको बच्चा स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए । ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउँदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माईएको हो’ उनले भने, ‘पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चार्टर गरेर रिफर गरिए हो ।’
जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र १ जना गाडीबाट गरी ४ जना रिफर गरिए जिल्ला अस्पताल कालिकोट जनाएको छ । जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     10:24:44 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *