बोर्ड अध्यक्षमा निकिता

काठमाडौं । नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एनएफडिसीकी प्रमुख निकितालाई १४ औं बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आवेदनमार्फत बोर्ड अध्यक्ष हुन निकितासहित १२ जना फिल्मकर्मीले आप्mनो भावी योजनाका साथ दावेदारी पेस गरे पनि बाँकी ११ आवेदकलाई निकिताले पछि पार्दै बोर्ड अध्यक्ष पद हासिल गर्न सफल भइन् । निकिता लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिइन् । गोपीकृष्ण हलकी सञ्चालिकासमेत रहेकी निकिताले निर्माण गरेको चलचित्र ‘पर्व’ जेठ महिनामा रिलिज भएको थियो ।

बोर्ड अध्यक्षका लागि निकितासँगै आलोककुमार तिवारी, उज्वलप्रसाद घिमिरे, गोपाल रिजाल (आयुष), चोपेन्द्र सागर पराजुली (सागर उद्गम), टीकाराम घिमिरे (योगेश), नरेश कुमार केसी, विशाल श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुदिपकुमार रेग्मी र सुष्मा थापा (कार्की) ले पनि आवेदन दिएका थिए । जेठ महिनाबाट राजकुमार राईको २ वर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।

चलचित्र विकास बोर्डमा अहिलेसम्म निकितालाई जोड्ने हो भने १४ अध्यक्ष बनिसकेका छन् । २०५७ सालमा यादव खरेल पहिलो अध्यक्ष बनेका थिए भने त्यसपश्चात, नीर शाह, मुकुन्दप्रसाद अचार्य, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, शैलेश आचार्य, ईश्वरचन्द्र ज्ञावली, गणेश भण्डारी, अमरराज गिरी र फेरि २०६८ साल जेठ १२ गते गणेश भण्डारी त्यसपश्चात धर्मेन्द्र मोरवैता, राजकुमार राई र केही समयका लागि सञ्चार मन्त्रालयका सचिव रामचन्द्र ढकाललाई २०७४ साल भदौ ५ गतेदेखि बोर्डको अध्यक्ष बनाइएको थियो ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     7:31:57 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *