प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकियो

काठमाडौं,  मंसिर २७ । पहिलो र दोस्रो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभा तर्फका ३ सय ३० क्षेत्रको मतगणना सकिएको हो ।

दुवै सभातर्फको मतगणना सकिएसँगै कम्युनिष्ट गठबन्धनले दुई तिहाई मत प्राप्त गरेका छन् । गठबन्धनले १ सय १६ सिटमा जित हासिल गरेको छ । समग्रमा एमालेले ८० माओवादी केन्द्रले ३६, काँग्रेसले २३, राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेका छन् ।

यस्तै, नयाँ शक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी समान १–१ क्षेत्रमा जित हातपार्दा स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभा अन्तर्गत ३ सय ३० क्षेत्र रहेकोमा सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नतिजा अनुसार एमाले सबैभन्दा बढी १६८ स्थानमा जित हासिल गरेको छ भने माओवादीले ७३, कांग्रेसले ४२, संघीय समाजवादी फोरमले २४, राजपाले १६, नयाँ शक्तिले २, राष्ट्रिय जनमोर्चाले २ र नमकिपाले १ स्थानमा जित हात पारेका छन् । भने ३ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यस्तै सुनसरी क्षेत्र नम्बर ३ को पनि मतगणना सकिएको छ । घोषित मतपरिणाम अनुसार त्यहाँबाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी हुनुभएको छ ।

कम्युनिष्ट गठबन्धनकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल हुनुभएको हो । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउनुभएको छ भने भगवतीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको छ ।
गच्छदार २०४८ साल,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनमा मधेशी अधिकार फोरम लोकतान्त्रिक बाट गच्छदारले चुनाव जित्नुभएको थियो ।

सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित हुनुभएको छ । श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित हुनुभएको हो ।  आज बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउनु भयो भने श्रेष्ठ ३१ हजार ४ सय ३६ मत ल्याएर पराजित हुनुभयो । योसँगै स्याङजाको सबै स्थानको नतिजा बाहिरिएको छ ।

कैलाली–२ बाट एमालेका झपट रावल विजयी हुनुभएको छ । कम्युनिष्ट गठबन्धनका साझा उम्मेदवार रावलले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै जित निकाल्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, रावल २५ हजार १ सय २७ मत ल्याएर निर्वाचित हुनुभयो । रावलका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनसिंह राठौर २३ हजार ३ सय १३ मतका साथ पराजित हुनुभएको हो ।

सुनसरी ३ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका अगम लाल चौधरी विजयी हुनुभएको छ । उहाँले २१ हजार ४ सय २९ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदेव यादवले १७ हजार ५ सय ६८ मत ल्याउनुभएको छ । यो नतिजासँगै सुनुरी प्रदेशसभाको सबै मतपरिणाम सकिएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     7:37:58 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *