कालिकोटमा अपरान्ह ४ बजेदेखि कफ्र्यु

कालीकोट पुस ८ । स्थानीय प्रशासनले सदरमुकाम मान्ममा कफ्र्यु आदेश जारी गरेको छ । प्रशासनले दिउँसो ४ बजेदेखि मान्म जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका स्थानहरुमा प्रदर्शन गर्न रोक लगाएको छ । मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुरेश प्रधान, डिआइजी सुरेशबिक्रम शाहको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमादुवै पक्षबीच वार्ता भई रहँदा प्रशासनले बाहिर कफ्र्यु आदेश जारी गरेको हो । प्रहरीले माइकिङ गरी जुम्ला रोड, जिरो प्वाइन्ट र जिल्ला कृषि विकास कार्यालय आसपासलाई निशेधित क्षेत्र घोषणा गरेको हो ।
प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका थिए । उनीहरुले दिनभर प्रदर्शन गर म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको छ । म्यादी प्रहरी र स्थानीयवासीले शनिवार बिहानैदेखि सदरमुकाम मान्ममा प्रदर्शन गरिरहेका छन् । घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द छ ।
कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध भएको छ । स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन् । म्यादी प्रहरीको आन्दोलनमा स्थानीय बासिन्दालेसमेत साथ दिएका छन् ।
सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको स्थानीय प्रशासनले जनाएको छ । आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन् । स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रशरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका हुन । जसका कारण दलहरूसँग स्थानीय प्रशासनको वाता सफल हुन सकेको छैन । अवस्था सामान्य बनाउन पहल जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् । मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ । यता प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले घटनाको बारेमा छानबीन भइरहेको बताएका छन् । उनले भने,‘घटना कसरी भयो भन्ने छानबीन भइरहेको छ, हामीले स्थानीय राजनीतिक दलसँग पनि छलफल गरिरहेका छौं । घटनाबारे सत्यतथ्य बाहिर ल्याउने छौं, हामी यसमा गम्भीर बनेका छौं ।’ अहिले भने प्रहरी र म्यादी प्र्रहरीबिच दोहोरो भिडन्त भइरहेको छ । यस्तै नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही, अनेरास्वीयु क्रान्तिकारी विद्यार्थी संघ लगायतले प्रेस विज्ञप्ती जारी गरि दुख व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शनिबार, पुस ८, २०७४     6:05:56 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *