कालिकोटमा लगाइएको कर्फ्यु केही समयलाई हटाईयो

कालिकोट पुस ९,

फाइल फाेटाे

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि हटाइएको छ । आज बिहान ८ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँले बिहान १० बजेपछि स्थिति हेरेर कर्फ्यू लगाउने कि हटाउने भन्ने निर्णय लिने बताउनुभयो ।
म्यादी प्रहरीले फेरि आन्दोलन चर्काए कर्फ्यू लगाउने र नगरे क्रमशः हटाउँदै जाने प्रशासनले जनाएको छ । कालिकोटमा रासनको विषयमा आन्दोलनमा उत्रिएका म्यादी प्रहरीमाथि गोली चलाउँदा शुक्रबार एक जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रण बाहिर जानसक्ने खतरा बढेपछि हिजो कर्फ्यू लगाइएको थियो ।
यसैबीच, गृहमन्त्रायले कालिकोटमा प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति बनाएको छ । मन्त्रालयका सह सचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ । समितिमा नेपाल प्रहरीको डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेका छन् ।
सातदिनभित्र घटनाबारे सत्य तथ्यबुझेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिलाई छ । गृह मन्त्रालयले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैया दिने निर्णय समेत गरेको छ । त्यस्तै उक्त घटनामा घाइते भएकाहरुलाई निशुल्क उपचार समेत गर्ने निर्णय गरेको छ । समितिले घटनाको अध्ययन गर्दै प्रतिवेदन तयार गर्ने छ ।

प्रकाशित मितिः आइतवार, पुस ९, २०७४     9:48:36 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *