मित्रता सार्वजनिक

काठमाडौं । एल्बम ‘मित्रता’ सार्वजनिक गरिएको छ । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त एल्बम ‘मित्रता’ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा विशिष्ठ अतिथि गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीतज्ञ बुलु मुकारुङ, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विक, वरिष्ठ चलचित्र पत्रकार एवं गीतकार शान्तिप्रिय रहेका थिए । संगीत कला पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा गीतकार माधव निर्दोषको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिसकेपछि कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । संघका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार माधव निर्दोषले स्वागत मन्तव्य दिँदै आफ्ना विगत र गीति लेखनका बारेमा प्रस्ट पारेका थिए । निर्दोषले आफूलाई संगीतकार बुलु मुकारुङले नै गीति लेखन राम्रो छ भन्दै गीतकार बन्ने बाटो देखाएको बताएका थिए । त्यसैगरी संगीतकार सन्तोष श्रेष्ठले मितेरी एल्बमदेखिको सांगीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल संगीत गर्ने अवसर मिलेको बताएका थिए । निर्दोषका गीतका लाइनमा नै आफैं संगीत भरिएको बताउँदै श्रेष्ठले एउटा राम्रो गीतकारका रूपमा आफूले पाएको बताएका थिए ।

त्यसैगरी वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले मितेरी, आत्मीयता हुँदै मित्रता आइपुग्दा अझै आत्मीयतामा परिणत होस् भन्ने शुभकामना व्यक्त गर्दै गीतकारले धानेको संगीत उद्योगका रूपमा पाएको बताएका थिए । त्यसैगरी वरिष्ठ संगीतज्ञ बुलु मुकारुङले गीतिकथाको रूपमा लेखन सुरु गर्दै गीतकारसम्म आइपुग्दा एउटा इतिहास बनेको बताएका थिए । भोलिको इतिहासले अब माधव निर्दोष गीति कथा लेखनको सशक्त नामका रूपमा चित्रित गर्ने बताएका थिए भने संगीतकार सन्तोष श्रेष्ठ दोस्रो शम्भुजितका रूपमा चिनिने लाइनमा निरन्तर क्रियाशील रहेको बताएका थिए । गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले नेपाली कला संस्कृतिको समृद्धिमा लागिपरेका गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको मित्रतालाई शुभकामना दिँदै स्रष्टा सदैव अमर रहने भूतपूर्व नहुने बताएका थिए ।

प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले कभर सङ गाउनेको प्रवृत्तिलाई व्यवस्थापन गर्नुपर्ने बताउँदै रोयल्टी व्यवस्थापनलाई पनि सशक्तढंगले अगाडि बढाउनुपर्ने बताए । गीतकार माधव निर्दोष १२ वर्ष अगाडि भेट्दादेखि अहिलेसम्म निरन्तर गीतसंगीत, साहित्य, पत्रकारिता जस्तो क्षेत्रमा क्रियाशील रहेको देख्दा खुशी लागेको बताए ।

मित्रता एल्बमभित्र सन्तोष श्रेष्ठको एकल संगीत र माधव निर्दोषको एकल गीत रहेको छ । एल्बमभित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरू समावेश रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, पुस १३, २०७४     2:30:06 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *