हिमाली आयोजना अलपत्र

जुम्ला,चन्दननाथ नगरपालिका ९ का तिलवहादुर गिरी हिमाली आयोजनाको सहयोगमा स्थापित त्रिवेणी गाईपालन उद्योगका सदस्य हुन । उद्योग स्थापना हुनु अघि उनले, गाईपालन गरेर मनग्गे आम्दानी गर्ने योजना बुनेका थिए ।

गाउँकै अम्मराज गिरीको अध्यक्षतामा उद्योग स्थापनाका लागि समुह बनाएर हिमाली आयोजनामा प्रस्तावना पेश गरेपछि गाईपालन उद्योग छनौटमा परेको थियो । उनले भने, जिल्लाकै नमुना गाईपालन गर्ने र दुध बेचेर व्यवसायिक क्रियाकलापमा अग्रसर हुने सपना बुनेको थिए, तर समुह भित्रैको किचलोको कारण उनको सपना पुरा हुन सकेन । उनले भने, पाँच वर्ष सम्मको लागि तर्जुमा गरिएका सवै योजना वर्षदिन नपुग्दै तुहिए । उद्योगका गाई समुहमा आबद्ध सबैले चार चार वटा भाग लगाएर घरमा लिएका छौ ।
एउटा गाईलाई काठमाण्डांैको वोटल खैरेनीवाट जुम्ला पुरयाउन न्युनतम ८० देखि ९० हजार रुपैया लगानी गरिएको छ । २०६९ सालमा स्थापित उद्योगमा १५ जर्सिगाई ल्याएका थिए । ३७ लाख २५ हजार रुपैयाको लागतमा उद्योगको भौतिक संरचना निर्माण गरिएको छ । तिल वहादुरले भने,४ वर्ष सम्म सयुक्त रुपमा पाल्यौ,हिमाली आयोजनाले चासो नदिने र समुहमा रहेका सदस्यले रेखदेख र संरक्षण गर्न छाडेपछि वाध्य भएर भागवण्डा गरेका हौ । अहिले उद्योग सुनसान छ । भवनको सुरक्षा गर्न सकिरहेको अवस्था छैन ।

अध्यक्ष अमर रावतले हिमाली आयोजनावाट आएको हिसावकिताव देखाएनन,हिमाली आयोजनाले हिसाव कितावका वारेमा अन्य सदस्य संग परामर्श गरेन, उनले भने,प्रहरी चौकी देखि सामुदायीक प्रहरी सम्म पुगेर उजुरी सम्म चल्यो । अहिले उद्योग गाई विनाको भएको स्थानीय वताउछन । शुरुका वर्षमा एक गाईले न्युनतम २ लिटर देखि ३१ लिटर सम्म दुध दिए । मल एक गाडीमा लिदा ७ हजार रुपैयामा विक्रि हुदै आएको थियो । तर उद्योग फस्टाउने संभावना छदाछदै गाई बाँडेर घरघरमा लिनु पर्ने अवस्था आयो ।
उसो त गाई बाँडीसकेपछि उद्योगको भवन भत्काएर काठ ढुंगा बराबर लिने सहमति भईसकेको थियो ।

जग्गा उद्योगको नाममा छैनन् । लिजमा लिएर उद्योग लगाएपनि भाडा नतिरेको स्थानीय बताउछन् । एक भारी जग्गाको एक हजार ५ सय रुपैया दिने सहमति छ । समुहका सदस्य बीचमा बोलचाल छैन, हिमाली आयोजनालाई वास्ता छैन, उनले भने,नाम मात्रको उद्योग रहेको छ ।

पहिलो वर्षमा दुध बेचेका झण्डै ९ लाख रुपैया वाहेक पछि उद्योग फाईदामा जान सकेन । गाईलाई घास दाना संकलनमा संकट हुदै आयो,हिमालीका कर्मचारी उद्योगमा हाजिर भएर फर्कने र तलव पकाउने मात्रै गरे, तिल वहादुरले भने,गाई वाडिसकेपछि निजि विद्यालयलाई भाडा दिने सम्मको कुरा चलेको थियो । घर भत्काउन नमिल्ने भाडा तिरेर हिमाली आयोजनाको कार्यालय रहने भनेपछि अहिले उद्योगको भवनमा कसैको ध्यायन गएको छैन ।

उद्योगको नाममा जग्गा नभएकोले जग्गावालाले जसको जग्गा उसैको घर हुनु पर्ने जिकिर गरेको छ । पाँच जना सदस्यले कसैले घास उमार्ने, कसैले दानाको व्यवस्थापन गर्ने त कसैले भवन लगाउनको लागि जग्गा उपलव्ध गराउने सहमति थियो । कर्णाली राजमार्गको आसपासमै रहेको उद्योग सबैको आकर्षणको केन्द्र मानिएको थियो । राजमार्गमा आवतजावत गर्ने जो सुकैले उद्योग अवलोकन गर्ने गर्थे ।

पहुँचका भरमा योजना छनौट हुनु, अर्कैको योजनामा व्यवसायीक योजना बनाईनु, आवश्यकता र ईच्छा शक्ति नभै कागजी प्रमाणलाई मात्रै ख्याल गरिनु, व्यवसाय सञ्चालन भईसकेपछि उचित रेखदेख र सुझाव नदिनु,लगायतका कमजोरीका कारण गाईपालन उद्योग अलपत्र वनेको स्थानीय बताउछन् । गाईपालन उद्योग प्रतिनिधी उदाहरण मात्र हो ।जिल्लाका ७० उपआयोजनामा अधिकांश आयोजना नाजुक अवस्थामा रहेका छन् । हिमाली आयोजनाका कृषि उद्यम व्यवसाय विज्ञ नारायण श्रेष्ठले सामुहिक रूपमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको स्वीकार गरे ।

प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     2:42:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *